काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा अन्तरजिल्ला मतदान र विदेशमा रहेका नेपालीले मतदान गर्न सक्ने व्यवस्था गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ।
निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार आयोगले निर्वाचनसम्बन्धी सातवटा छुट्टाछुट्टै ऐनलाई एकीकृत गरी ‘निर्वाचन व्यवस्थापन विधेयक’ बनाउने प्रक्रिया अघि बढाएको छ। आवश्यक परिमार्जनसहित एकीकृत मस्यौदा २०८३ जेठ २२ गते गृह मन्त्रालयमा पठाइएको थियो।
आयोगले कानुनी, प्राविधिक र व्यावहारिक पक्षलाई ध्यानमा राख्दै अन्तरजिल्ला तथा बाह्य मतदानको व्यवस्था चरणबद्ध रूपमा लागू गर्न सकिने सुझाव दिएको छ।
प्रस्तावअनुसार आवश्यक कानुन र प्रविधि तयार भए आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनमा निश्चित स्थानमा परीक्षणका रूपमा अन्तरजिल्ला मतदान सुरु गर्न सकिनेछ। यस व्यवस्थाले आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका मतदातालाई पनि मतदानमा सहभागी हुन सहज बनाउने अपेक्षा गरिएको छ।
विदेशमा रहेका नेपालीका हकमा भने प्रत्यक्ष मतदानको सम्भावना कम रहेको र इन्टरनेटमार्फत मतदान गर्न सकिने विकल्पबारे आयोगले सुझाव दिएको छ।
यद्यपि, यी व्यवस्था लागू गर्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन। यसका लागि आवश्यक कानुनी व्यवस्था, प्रविधि र व्यवस्थापकीय तयारी पूरा गर्नुपर्नेछ।
