• Wednesday 28th of October 2026

जब कांग्रेस सांसद बोल्दा रास्वपाका सांसदले ठोके टेबुल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सांसदले उठाएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले टेबुल ठोकेर स्वागत गरेका छन् । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले महिला प्रतिनिधित्वको विषय उठाउँदा रास्वपा सांसदहरूले टेबुल ठोकेर समर्थन गरेका हुन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्रिपरिषद् निर्माण गर्दा संविधान कुल्चिनेक्रम जारी रहेको विषय उठाएकी थिइन् । “मैले पढेको मनुस्मृतिमा यत्र नस्र्यस्य पुज्यन्ते रमन्ते तत्र देवता भन्ने थियो ।

यहाँ त यत्र पुरस्य पुज्यन्ते रमन्ते तत्र देवता जस्तो भयो,” थिङले भनिन्, “यो किन मैले भनिरहेको छु भने जुनसुकै मन्त्रिमण्डलमा पनि संविधानलाई कुल्चिएर ३३ प्रतिशत महिला मन्त्रिपरिषद्मा कहिले पनि देख्न नपाउने भयो । सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस भएनन् ।”

उनले यति भनिसक्दा संसद्मा रास्वपाका अधिकांश सांसदले टेबुल ठोकेर समर्थन गरिरहेका थिए । सँगसँगै महिला सांसदहरूले पनि समर्थन गरेका थिए ।

सचेतक थिङले अन्य क्षेत्रमा योग्य हुने महिला प्रतिनिधित्वमा किन समानुपातिकमा मात्र पर्छन् भन्दै प्रश्न उठाइन् । “मेरो उदाहरण प्रतिनिधिमुलक पात्रमा मात्र हो । मैले कानुनमा स्नातक गरेको छु, सोसियोलोजीमा स्नातकोत्तर गरेको छु । तर, म कहिल्यै योग्य भइन ।

मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिइन,” थिङले भनिन्, “त्यसकारण हामी महिलाहरू कहिलेसम्म यो समानुपातिकको दर्जामा दर्ज हुने हो, हामीलाई कहिलेसम्म समान बनाउने हो ?”

उनले संविधान लागु होस् भनेर आफूले विषय उठाएको स्पष्टीकरणसमेत दिएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖