बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना केही दिन भारतमै बस्ने सम्भावना देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बेलायतले शरण दिने सम्भावना क्षीण देखिएकाले उनको यात्रा अनिश्चित बनेको छ।
बेलायती सरकारले बंगलादेशमा भएको प्रदर्शनका कारण बेलायत पुगेपछि पनि उनीविरुद्ध कानुनी कारबाही हुन सक्ने संकेत गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार शेख हसिनालाई हाल भारतकै सुरक्षित स्थानमा सारिएको छ। यसैबीच केही मिडिया रिपोर्टले अमेरिकाले शेख हसिनाको भिसा रद्द गरेको दाबी पनि गरेका छन्।
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले मंगलबार त्यहाँको संसद् भंग गरिसकेका छन्। अनि जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई पनि रिहा गरिएको छ।
स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा दिइने आरणको विरोध गर्दै दुई महिनादेखि विद्यार्थीले गरेको आन्दोलनले हिंसात्मक रूप लिएपछि हसिना सोमबार पदबाट राजीनामा दिँदै भारत भागेकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रभारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिन्डन एयरबेसमा हसिनासँग झन्डै एक घण्टा कुराकानी गरेका थिए।
यस्तै मंगलबार भारतमा आयोजित सर्वदलीय बैठकमा विदेशमन्त्री जयशंकरले भने, ‘शेख हसिना स्तब्ध छिन्। सरकारले उनलाई कुरा गर्नुअघि केही समय दिइरहेको छ। उनले आफ्नो भविष्य आफैँ तय गर्नेछिन्।’
उनी लन्डन वा फिनल्यान्ड जान सक्ने अनुमान भारतीय सञ्चारमाध्यमले गरेका छन्।
