काठमाडौँ – काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस् लेख्दै बालेनले प्रधानमन्त्री केपी ओलीलाई सांसद शर्मालाई पक्राउ गर्न माग गरेका हुन् ।
आइतबार साँझ मेयर बालेनले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएको, घरेलु, कामदार राखेर बाल श्रमशोषण गरेकोमा पक्राउ नगरेको भन्दै आपत्ति जनाएका छन् । सांसद शर्माको फोटोसहित उनले लेखेका छन्,‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ ।’, बालेनले लेखेका छन् ।
‘काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनी सकेको छ । सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दैछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??’, उनले अगाडि लेखेका छन् । ।
सांसद शर्माले बालिकालाई घरेलु कामदारका रुपमा राखेर श्रम शोषण गर्ने गरेको तथ्य फेला परेको थियो । उनले पक्राउ गर्न दवाव दिएपनि एमाले सांसद भएकाले पक्राउ गर्ने सम्भावना कमजोर छ ।
