आइसिओ वल्र्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडी नीराजन मुक्तानले २ स्वर्ण र १ कांस्य गरी ३ पदक जितेका छन्।
जर्मनीको फ्य्राङ्फर्टमा भएको प्रतियोगितामा नीराजन मुक्तानले दोहोरो स्वर्ण जित्दा इजिकेल परियारले कांस्य जितेको नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले जनाएका छन्।
महासचिव गुरुङका अनुसार नीराजनले किक बक्सिङको पुरुष ६० केजीमुनि फाइनलमा इङ्ल्यान्डका खेलाडीलाई पराजित गरी स्वर्ण जिते। त्यसअघि उनले फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराएका थिए।
नीराजनले अर्को स्वर्ण चाइनिज फम्सको नान् छ्वानमा जितेका हुन्। यो स्पर्धामा नीराजनले जर्मनी, युक्रेन, साइप्रस, इङ्ल्यान्ड र स्कटल्यान्डका खेलाडीलाई पछि पारेका थिए। इजिकेलले किक बक्सिङको पुरुष ७०–७५ केजीमा कांस्य हात पारे।
इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसँग पराजित भएका थिए। अघिल्ला चरणमा भाइब बक्सिङ क्लबका प्रशिक्षकसमेत रहेका इजिकेलले इङ्ल्यान्ड र स्कटल्यान्डका खेलाडीलाई पाखा लगाएका थिए।
इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आइसिओ), जर्मनीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७ सय ५ खेलाडीको सहभागिता रहेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्षसमेत रहेका महासचिव गुरुङले जनाएका छन्।
