पोखरा । पर्यटकीय नगरी पोखरामा पछिल्लो तीन–चार दिनयता कण्डमको मागसमेत ह्वात्तै बढेको छ ।
शहीद चोकमा फार्मेसी सञ्चालन गर्दै आएका रोहित धिमालका अनुसार कण्डम किन्न आउनेहरु अधिकांश आन्तरिक पर्यटक हुन् । आफ्नो पसलबाट दैनिक सरदर ६÷७ वटा कण्डम बिक्री हुने गरेकोमा पछिल्लो समय दैनिक ४०/५० वटा बिक्री भइरहेको उनले बताए ।
‘पर्यटकको संख्या ह्वात्तै बढेको देखियो है !’, भन्ने जिज्ञासामा उनले सुनाए, ‘पर्यटक त पहिले पनि आउँथे, तर कण्डम किन्ने अधिकांश विदेशी हुन्थे । यस पटक स्वदेशी नै स्वदेशी छन् ।’
त्यस्तै, पृथ्वी चोकमा फार्मेसी सञ्चालन गर्दै आएका विवेक पण्डितले पनि केही दिनयता कण्डम किन्ने ग्राहकको संख्या बढेको सुनाए । ‘भर्खर जाडो शुरु हुँदैछ, विदेशी पर्यटक अझै त्यति धेरै आइपुगिसकेका छैनन्’, उनले भने, ‘दुई–तीन दिनमा मैले जति कण्डम बेचेँ, ती किन्ने सबै नेपाली नै हुन् ।’
