• Sunday 29th of November 2026

आज काग तिहार :एकाबिहानै राजधानीमा काग सम्मेलन सम्पन्न, कलाकार दुलालले भेला गराए सयौँ काग


  • धनकुटा खबर
  • .

काठमाडौँ । काग तिहारको दिन बुधबार बिहानै ‘२१औँ काग सम्मेलन’ गरिएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे)ले विगतका वर्षहरूमा झैँ यो वर्ष पनि कागहरूलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए ।

उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन् । ‘विगत वर्षमा झैँ यो वर्ष पनि सम्मेलन गरेर कागलाई भेला गराउन सफल भइएको छ। यो मेरो २१ औँ काग सम्मेलन हो’, इलाम स्थायी ठेगाना भएका दुलालले सम्मेलन सम्पन्न भएसँगै भने।

उनले आज बिहान पौने ६ बजे आयोजित उक्त सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए ।

‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ। कागलाई बोलाउँदा मलाई आपत् पर्‍यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्’ उनले भने । सोहीअनुसार कागको स्वभावअनुसार बोलाउँदा काग तिहारको बिहानै कागलाई भेला गर्न सकिएको बताए । दुलालले विगतमा आफूले नाकाबन्दीका विरुद्ध भारतीय दूतावास अगाडिसमेत काग सम्मेलन गरेको स्मरण गर्दै आजको सम्मेलन भने साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले जितोस् भन्ने कामनाका गरिन्छ ।

कागतिहारको दिन दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ।

दुलालले आफूले कागसहित १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सक्ने बताए । दुलालले कागबाहेक मुखैले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए ।

सम्मेलनमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष प्रकाश कटवाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖