• Tuesday 6th of October 2026

लिग–२ मा आठ महिनापछि नेपालको जित


  • धनकुटा खबर
  • .

काठमाडौ । जित आफैंमा कति कठिन हुन्छ त्यो सायद नेपाली क्रिकेट टोलीले अब महसुस गर्न थालेको छ। यो त्यही टोली थियो, जसले आइसिसी विश्वकप छनोट लिग–२ को अघिल्लो शृंखलाका अन्तिम १२ मध्ये ११ खेलमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो।

त्यसपछि अर्को नयाँ शृंखलामा फर्किएको टोलीले त्यस्तो बलियो प्रदर्शन देखाउन सकेको छैन। अझ दोस्रो जित निकाल्न पनि अब आठ महिना लाग्न थालेको छ। अमेरिका भ्रमणमा रहेको टोलीले स्कट्ल्यान्डविरुद्ध पाँच विकेटको जित निकाल्दै लामो समयपछि पुनरागमन गरेको हो।

नेपालले अन्तिमपल्ट कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो। त्यो जित थियो, गत फेब्रुअरी १७ मा। त्यसयता नेपालले नामिबिया, क्यानडा, ओमान र अमेरिकासँग सात खेल खेले पनि जित निकाल्न सकेको थिएन। त्यस क्रममा ओमानसँग वर्षाका कारण अंक बाँडेको नेपालले स्कट्ल्यान्डसँग भने जित निकाल्न सफल भएको हो। यो जितसँगै १० खेलबाट नेपालले पाँच पुर्‍याएको छ। नेपाल अंकतालिकामा सातौं स्थानमा छ। स्कट्ल्यान्डको भने पाँचौं खेलपछि पहिलो हार हो।

स्कट्ल्यान्ड अन्तिमपल्ट गत जुलाईमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो। नेपालको भन्दा एक खेल कम खेलेको स्कट्ल्यान्ड ११ अंकसहित चौथो स्थानमा छ।

जितका लागि स्कट्ल्यान्डले दिएको १५५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा पाँच विकेट गुमाउँदै १५७ रन बनाएको थियो।

नेपालले यसपल्ट पनि सुरुआत राम्रो गर्न सकेन। अनिलकुमार साह १३ र आसिफ सेख २१ रनमा पेभिलियन फर्किंदा तेस्रो नम्बरमा आएका कुशल मल्लले पनि सात रनमै क्रिज छाडे। लगातार ‘फ्लप’ साबित भइरहेका उनलाई मुख्य प्रशिक्षक मोन्टी देसाईंले तेस्रो नम्बरमा प्रयोग गरेका हुन्। तर, उनले आफ्नो भूमिकालाई न्याय दिन सकेनन्। कुशल भुर्तेलले २५ रन बनाउँदै नेपाललाई खेलमा फर्काएका थिए। तर, कप्तान रोहितकुमार पौडेल एक रनमै क्याच आउट हुँदा नेपाललाई जितसम्म पु¥याउने जिम्मा भने आरिफ सेख र गुलसनकुमार झाको काँधमा आइपुगेको थियो। उनीहरूबीच छैटौं विकेटका लागि ५७ रनको साझेदारी भएसँगै नेपालले जित पक्का गरेको हो।

४२ बल खेलेका आरिफले आठ चौकासहित अविजित ५१ रन बनाए। गुलसन भने २५ रनमा अविजित रहे। स्कट्ल्यान्डका ब्रान्डन म्याकमुलन महंगो साबित भए। ७.५ ओभर बलिङ गरेका उनले एक मेडनसहित ४१ रन खर्चिएर दुई विकेट लिए। ब्राड क्युरी, मार्क वार्ट र ज्याक जार्भिसले समान एक विकेट लिए।

त्यसअघि सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी र गुलसनकुमार झाले कसिलो बलिङ गर्दा स्कट्ल्यान्डको ब्याटर खुलेर खेल्न सकेनन्। स्कट्ल्यान्डका वार्टले सर्वाधिक ३४ रन बनाएका थिए। अरूको भने त्यति राम्रो प्रदर्शन हुन नसक्दा नेपाललाई अमेरिकामा पहिलो जित हासिल गर्ने अवसर जुरेको हो। यसअघि नेपाल घरेलु टोलीसँग तीन विकेटले पराजित भएको थियो।

सन्दीपले सर्वाधिक तीन विकेट लिए। करण, सोमपाल र गुलसनको नाममा समान दुई विकेट रह्यो। गुलसनले भने एक विकेट हात पारे। नेपालले आगामी शनिबार अमेरिकासँग खेल खेल्नेछ। यस्तै, सोमबार स्कट्ल्यान्डसँग खेल्दै यो भ्रमण अन्त्य गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖