कञ्चनपुर — गत वर्षको भदौमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुग्दा बैतडीको दशरथचन्द नगरपालिका–५ भट्टगाउँकी हिमश्वेता भट्टलाई त्यहाँको कृषि प्रविधिले आकर्षित गरेको थियो । केही सिकेर घर फर्किने चाहना हमास समूहको आक्रमणमा परेपछि एक महिना पनि नपुग्दै घर फर्किनुपर्यो ।
सँगै गएका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीले ज्यान गुमाए । सँगै इजरायल गएका साथी विपिन जोशी अझै बेपत्ता छन् । कृषि प्रविधिबारे सिक्ने लक्ष्यसहित उत्साहित भएर इजरायल पुगेकी भट्ट अचानक घर फकिर्नुपर्दा खिन्न थिइन् । केही दिन त केही सोच्नै सकिनन् । फर्केपछि बरु अनलाइनबाटै इन्टर्नसिप पूरा गरिन् । अध्ययनकै लागि अमेरिका जाने योजना बनाइन् ।
यसै दौरान वाग्मती प्रदेश लोक सेवा आयोगले कृषि अधिकृतमा विज्ञापन खोलेको थाहा पाइन् । यसअघि कहींकतै लोक सेवा परीक्षामा सहभागी नभएकी उनले म्याद नाघेकाले अतिरिक्त शुल्क तिरेर आवेदन दिइन् । अन्ततः पहिलो प्रयासमै लोक सेवामा नाम निकाल्न सफल पनि भइन् । पहिलो प्रयासमै कृषि अधिकृत भएपछि भट्टलाई अहिले बधाई दिनेको ओइरो छ ।
सानैदेखि पढाइमा अब्बल भट्ट कक्षामा पहिलोरदोस्रो भइरहन्थिन् । अतिरिक्त विषयमा पनि चासो राख्ने उनले लोक सेवा परीक्षा तयारीका किताब पनि पढ्दै आएकी थिइन् । त्यही अध्ययनले नै पहिलो प्रयासमै सफलता मिलेको उनी मान्छिन् ।
‘परीक्षाका लागि नै भनेर खासै तयारी गर्न पाएकी थिइनँ, न कतै तयारी कक्षा नै लिएकी थिएँ,’ भट्टले भनिन्, ‘समय गुज्रिसकेकाले आवेदन पनि अतिरिक्त शुल्क तिरेर भरेकी हुँ, तर परीक्षा दिएपछि भने ढुक्क थिएँ ।’ कृषि अधिकृतमा पनि नाम निस्कनेमा उनको परिवार पनि विश्वस्त थियो ।
कृषि पढ्न भनेर इजरायल गएको एक महिना पनि नहुँदै नेपाली विद्यार्थीमाथि हमासको आक्रमण भयो, केही सिक्न भनी गएकाहरू त्रसित भएर घर फर्कनुपर्यो, छोरी पनि फर्केपछि अमेरिका जान लागेकी थिइन्, मैले नै विदेश फाप्दो रहेनछ भनेर उनलाई लोक सेवामै भिड्न जोड गरेको हुँ । -थिरेन्द्र भट्ट, बुबा
