• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

यो सरकारलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे समीकरण २०८४ काे चुनावसम्म कायमै रहने बताउनुभएकाे छ ।

एमालेले शुक्रबार काठमाडाैंकाे दरबारमार्गमा आयाेजना गरेकाे जागरण सभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले ०८४ काे मंसिरकाे चुनावसम्म अहिलेकाे समीकरण कायमै रहने बताउनुभयाे ।
सरकार गिराउने विराेधीहरुकाे खेल पूरा नहुने उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘सरकार बन्दै-बन्दैन, बन्याे, विश्वासको मत पाउँदै-पाउँदैन पायाे, याे महिना कट्दैन त्याे पनि कट्याे, दशैं देख्दैन देख्ने मात्रै हाेइन मनायाे, तिहार देख्दैन त्याे पनि देख्याे, कात्तिक कट्दैन त्याे पनि कट्याे, अब त मंसिर पनि आयाे, उनीहरू अब फेब्रुअरी भाका राखिरहेका छन्, फेब्रुअरी भनेकाे फागुकाे कुरा हाे, फागुनसम्म हाेइन म भन्न चाहान्छु ०८४ मंसिरकाे चुनावसम्म अहिलेकाे समीकरण कायम रहन्छ, सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ ।’

०८३ असारसम्म आफू सरकारकाे नेतृत्वमा रहने र त्यसपछि आफूले शेरबहादुर देउवालाई पद जिम्मा लगाउने उहाँले बताउनुभयाे । यसमा कुनै भ्रममा नपर्न सबैमा प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयाे ।

एमाले र कांग्रेस प्रतिष्पर्धी पार्टी भएपनि अहिले प्रतिष्पर्धा भन्दा महत्वपूर्ण कुरा एकता भएकाे उहाँले बताउनुभयाे । देशलाई अप्ठयाराेमा पार्न खाेजिएकाे, लाेकतन्त्रलाई अप्ठ्याराेमा पार्न खाेजिएकाे, संविधान मास्न खाेजिएकाे, अराजकताकाे स्थिति ल्याउन खाेजिएकाे छ, अलाेकतान्त्रिक बाटाेबाट अराजकता सृजना गरेर समाजलाई भाँड्न खाेजिएकाले कांग्रेस र एमाले एक ठाउँमा उभिएका प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

नेपाली जनताले ठूलाे संघर्ष र बलिदान गरेर ल्याएकाे लाेकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेकाे भन्दै प्रधानमन्त्री ओलीले त्याे षड्यन्त्र पूरा हुन नदिइने प्रतिबद्धता जनाउनुभयाे ।

एमालेलाई कसैले हल्लाउन नसक्ने उहाँले बताउनुभयाे । अहिलेकाे समीकरणलाई पनि कसैले हल्लाउन नसक्ने बताउनुभयाे । शहीद र अग्रजले बगाएकाे पसिना र रगत एमालेले खेर जान नदिने प्रतिबद्धता जनाउनुभयाे । संविधानका मर्म तलमाथि पर्न नदिइने भन्दै उहाँले संशाेधन गर्नुपर्ने जनताकाे राय सुझावमा मात्र संशाेधन गरिने बताउनुभयाे ।

देश र जनताका लागि एउटा पहरेदार र सिपाइकाे रुपमा एमाले रहेकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘एमालेलाई कसैले हल्लाउन सक्ने छैन, अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन, किनभने अहिलेकाे सरकार कमिसनखोरी र भ्रष्टाचार गर्न सरकारमा गएको हाेइन, कमाउन हाेइन, आफ्ना मान्छे फाेस्न हाेइन ।’

सबै ठाउँमा आफ्ना मानिस भर्ती गरेर एमालेमाथि औंला ठड्याउने काम भइरहेकाे उहाँले एमालेसँग तथ्य प्रमाणका आधारमा बहसमा आउन चुनाैती दिनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘सबै ठाउँमा आफ्ना मानिस भर्ती गराउने, मेरिटाेक्रेसीका गफ लगाउने, आफ्ना मान्छे भर्ती गरेर आफ्ना मान्छेका लागि अकुत सम्पत्ति थुपार्ने, म विभिन्न पार्टीका नेतालाई भन्न चाहान्छु, एमालेतिर औंला ठड्याएर बोलिरहनुभएकाे छ तपाइँहरु तथ्य र प्रमाणका आधारमा एमालेसँग बहस गर्न सक्नुहुन्छ ?’

कम्बोडियामा ३२ हजार करोड लगानी गरेको भ्रम फैलाइएकाे भन्दै उहाँले भ्रम नफैल्याउन चेतावनी दिनुभयाे । प्रधानमन्त्री ओलीले ७ पुस्ता सम्मका लागि अरबाैंका मालिक कसले बनाएकाे छ भन्ने कुरामा बहस गर्न एमाले तयार रहेकाे पनि बताउनुभयाे । ‘कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्वीस बैंकमा यति हजार, तपाइँहरू हेर्न त जान सक्नु हुन्न, भन्दिए भो, त्यो मात्र किन भन्ने अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो ल भन्देउ न भन्दिनका लागि, यस्तो फाल्तु कुरा गरेर हुँदैन, कसले सात पुस्ता र गोरु बेचेको साइनोसम्मकालाई थुपारेर अर्बौं करोडौंको मालिक बनाएका छन्, त्यसका लागि हामी बहस गर्न तयार छौं’- उहाँले भन्नुभयाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖