• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ। बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै एआईजी मनोज केसी प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन् ।

सरकारको सरप्राइज निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा पुगेका मनोज केसी यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए ।

सरकारले दानबहादुर कार्कीलाई उक्त पदबाट हटाएर केसीलाई सङ्गठनको नेतृत्व सुम्पिएको हो । नुवाकाेटकाे तुप्चेमा जन्मिएका केसी प्रहरी सेवामा कार्कीकै ब्याचका अधिकृत हुन्। उनीहरू चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए।

केसीको प्रहरी करियरमा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान महत्त्वपूर्ण मानिन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा उनले लामो समयदेखि अघि बढ्न नसकेको उक्त प्रकरणको अनुसन्धानलाई गति दिएका थिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहविरुद्ध उनले अनुसन्धान अघि बढाएका थिए । उनकै नेतृत्वको टोलीले १२ चैत २०७९ मा यस प्रकरणका आरोपी केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेको थियो ।

त्यसपछि सङ्गठित अपराधअन्तर्गत अनुसन्धान अघि बढ्दै जाँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका थिए ।

त्यतिबेला केसी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थिए । कांग्रेस नेता बालकृष्ण खाँडलाई पक्राउ गर्न उनको नेतृत्वको टोली खाँड निवास पुगेको थियो । यही घटनापछि कांग्रेस नेतृत्व केसीसँग असन्तुष्ट बनेको थियो । कांग्रेस सरकारमा रहँदासम्म उनले महत्त्वपूर्ण जिम्मेवारी पाउन नसकेको प्रहरी वृत्तमा चर्चा हुँदै आएको थियो ।

भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढिरहेका बेला ४ भदौ २०८० मा तत्कालीन सरकारले उनलाई जिम्मेवारीबाट हटाएको थियो ।

त्यसपछि ५ असोज २०८२ मा सरकारले उनलाई प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरेको थियो । सीआईबीपछि उनी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पुगेका थिए ।

प्रहरी सङ्गठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएका केसी अब सङ्गठनकै सर्वोच्च नेतृत्वमा पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖