• Tuesday 6th of October 2026

सर्वाधिक रन बनाउनेमा रोहित अगाडि


  • धनकुटा खबर
  • .

काठमाडौं : लुम्बिनी लायन्सको पहिलो संस्करणको एनपीएल यात्रा सोचे अनुरुप हुन सकेको छैन। अहिलेसम्म चार खेल खेलेको लुम्बिनीले चारै खेलमा पराजय बेहोरेको छ। लगातारको हारले लुम्बिनीको प्लेअफ सम्भावना पनि कमजोर बनेको छ। तर, यही टोलीका कप्तान रोहित पौडेल भने सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। रोहितले अहिलेसम्म खेलेका चार खेलमा एक सय ८१ रन बनाएका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध ९५ रनको अर्धशतकीय पालि खेलेका थिए। यस्तै जनकपुर बोल्ट्सविरुद्ध ३५, सुदूरपश्चिम रोयल्सविरुद्ध पाँच र विराटनगर किङ्सविरुद्ध ४६ रन बनाएका थिए।

यसैगरी सर्वाधिक रन बनाउने सूचीमा जनकपुर बोल्ट्सका लाहिरू मिलन्था छन्। रोहितलाई पछ्याइरहेका उनले चार खेलमा एक सय ६८ रन बनाएका छन्। मिलान्थाले लुम्बिनी लायन्ससँगको खेलमा २४, पोखरा एभेन्जर्ससँग ४५, कर्णाली याक्ससँग २४ र विराटनगर किङ्सविरुद्ध अविजित ७५ रन बनाएका थिए। यसैगरी चितवन राइनोजका रवि बोपरा एक सय ५७ रन बनाउँदै तेस्रो स्थानमा छन् भने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी एक सय ४० रनका साथ चौथो स्थानमा छन्। यस्तै कर्णाली याक्सका भारतीय खेलाडी शिखर धवन सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन्। कर्णालीबाट चार खेल खेलेका धवनले एक अर्धशतकसहित एक सय ३६ रन बनाएका थिए। उनले जनकपुर बोल्ट्सविरुद्ध १४, काठमाडौं गोर्खाजविरुद्ध ७२, चितवन राइनोजविरुद्ध ४५ र विराटनगर किङ्सविरुद्ध पाँच रन बनाएका थिए।

एनपीएलमा पोखरा एभेन्जर्सका अमेरिकी खेलाडी आन्द्रेस गौस शतक बनाउने पहिलो खेलाडी बनेका छन्। गत शुक्रबार लुम्बिनी लायन्सविरुद्धको खेलमा गौसले प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका थिए। उनले ५४ बलमा पाँच छक्का र १२ चौकाको मद्दतमा शतक बनाएका थिए।

विकेटकिपर ब्याटर गौसले एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका थिए। उनले २० बलमा तीन छक्का र पाँच चौकाको सहयोगमा अर्धशतक पूरा गरेका थिए। यसअघि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले विराटनगर किङ्सविरुद्धको खेलमा २३ बलमा अर्धशतक बनाएका थिए। दक्षिण अफ्रिकामा जन्मिएका गौस पछिल्लो समय अमेरिकाको राष्ट्रिय टोलीका नियमित सदस्य छन्। उनले वासिङ्टन फ्रिडमबाट घरेलु प्रतियोगिता खेल्ने गर्छन्।

सर्वाधिक विकेट लिने खेलाडीमा भने पाकिस्तानका तीव्र गतिका बलर सोहेल तनभिर शीर्ष स्थानमा छन्। चितवन राइनोजका तनभिरले चार खेलमा एक मेडनसहित नौ विकेट लिएका छन्। काठमाडौं गोर्खाजसँगको खेलमा उनले पाँच विकेट लिएका थिए। एनपीएलमा पाँच विकेट लिने उनी पहिलो खेलाडी हुन्। उनीपछि सुदूरपश्चिम रोयल्सका नरेन साउद र जनकपुरका हर्ष थाकरले पनि यो सफलता हात पारेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖