काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउनुभएकाे छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औं स्थापना दिवसका अवसरमा बुधबार काठमाडाैंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे – ‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौं, नेकपा एमाले र नेपाली कांग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन्, राजाका पालामा अनेक मुद्धा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए, हामी मानिस हौं र मानिस भनेको सबै बराबर हुन्छ, जातीय विभेद अन्त्यका लागि हामी विद्यमान कानुनमा संशोधनका निम्ति पनि लाग्नेछौं ।’
प्रधानमन्त्री ओलीले जातीय छूवाछुत र साम्प्रदायिकतालाई निमिट्यान्न पार्न वर्तमान सरकार तत्पर रहेको बताउनुभयाे । असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुखी हुन सक्दैन भन्दै उहाँले सुखी हुन असमानता र छूवाछूत हटाउनुपर्ने बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता सुनिश्चित गर्न संविधानमा नै व्यवस्था गरिएको बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘मान्छे एउटै हो, जन्मदै कोही पनि श्रेष्ठ हुँदैन, जन्मदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन, सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन ।’
विराेधीहरुले सरकार ढल्ने भ्रम फैलाइरहेका भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रममा विश्वास नगर्न आग्रह गर्नुभयाे ।
