• Monday 5th of October 2026

‘अञ्जिला’ हेरेपछि प्रीति राई : एन्जिलाको संघर्ष फिल्ममा देखाइएको भन्दा धेरै छ


  • धनकुटा खबर
  • .

काठमाडौं । विहिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । पहिलो दिन फिल्मले दर्शकको सन्तोषजनक साथ पायो ।

निर्देशक मिलन चाम्ससहित फिल्मको टिम हल भिजिटमा ब्यस्त देखियो । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाबारेको फिल्म हेर्न अन्य फुटबल खेलाडी पनि हलमा पुगे ।

फागु पर्वदेखि रिलिज भएको फिल्मलाई पहिलो दिनमै हेर्न राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राई पनि हलमा पुगेकी थिइन् । फिल्म हेरेपछि उनले दर्शकसँग साक्षात्कार गरिन् ।

फिल्ममा देखाइएको भन्दा धेरै संघर्ष एन्जिलाले वास्तविक जीवनमा गरेको उनले बताइन् । ‘यस फिल्ममा देखाइएको भन्दा पनि धेरै संघर्ष एन्जिलाले गरेकी छन्, जुन मलाई थाहा छ’ मिडियासँग उनले भनिन्, ‘उहाँहरूले यति धेरै संघर्ष गरेर नै आज हामीले खेलको क्षेत्रमा यो ठाउँसम्म आइपुगेका छौँ ।’

राईले भनिन्, ‘एन्जिलालाई यो ठाउँमा देख्दा मलाई एकदमै खुसी महसुस भइरहेको छ । छोरीले फुटबल खेल्नु हुँदैन भन्ने सामाजिक दृष्टिकोण मैले पनि भोगेकी थिएँ, आज यो ठाउँमा उभिँदा मलाई पनि गर्व लागेको छ ।’

यो फिल्ममा एन्जिला स्वयमको अभिनय छ । यसबाहेक सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङको पनि अभिनय छ । निर्देशक चाम्सले आफूले चाहेर पनि एन्जिलाको जीवनमा घटेका थप दर्दनाक घटना देखाउन नसकेको बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖