• Saturday 31st of October 2026

‘राजा फर्काउने’ भनिएको मोर्चामा दुई राजावादी हस्तीलाई नै बाइपास ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नारायणहिटीबाट बिदा भइसकेको राजतन्त्रलाई फेरि फर्काउने भनेर वर्तमान व्यवस्था विरोधीहरूको समूहले मोर्चा बनाउँदा दुई राजावादी हस्तीलाई बाइपास गरिएको खुलासा भएको छ ।

पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा सोमबार ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा हुँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बाइपास गरिएको पाइएको हो ।

दुवै नेताहरूले आफूहरूसँग कुनै छलफल बिना नै समिति मातहतको निर्देशक समितिमा नाम राखिएको बताएका छन् ।

लिङ्देनले आफू उक्त समितिमा नरहेको बताए । लिङ्देनले भने, ‘हामी यो प्रक्रियामै सामेल छैनौँ । हामीलाई जानकारी नै नभएको विषय हो ।’

पार्टीका केही साथीहरू उक्त समिति घोषणा कार्यक्रममा सोमबार उपस्थित भए पनि आफूसँग भने कुनै सल्लाह नभएको लिङ्देनको भनाइ थियो । ‘केही साथीहरू के बुझेर जानु भयो, त्यो छलफलको विषय हुन्छ । हामीलाई नवराज सुवेदीले समान विचारधारा भएका साथीहरूको बीचमा एउटा बैठक गर्ने भनेर भन्नु भएको चाहिँ हो । त्यहीअनुसार हामीले प्रतिनिधि पठाएका थियौँ’, उनले भने, ‘अहिले एक्कासि निर्णय भएको खबर आएको छ । जुन प्रक्रियामा हामी सामेल नै छैनौँ भने त्यसको बारेमा कुनै टिप्पणी छैन ।’ समितिमा आफूलाई पनि राखिएको भनेर प्रचार आएपनि थाहै नभएको समितिमा बस्ने कुरा नआउने उनको भनाइ थियो ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पनि आफूहरूसँग यसबारे कुनै सल्लाह नभएको बताए । सल्लाह बिनै बनेको समितिमा कमल थापाको नाम रहेको उल्लेख गर्दै उनले मंगलबार पार्टीको बैठक बोलाइएको र यसबारे आवश्यक निर्णय हुने बताए ।

स्रोतका अनुसार पूर्वराजाकै चासोमा सुवेदीलाई राजतन्त्र फर्काउने मिसनका साथ संयोजक बनाइएको हो । तर, राजावादी प्रमुख दलका अध्यक्ष लिङ्देनलाई बेवास्ता गरिएको हो भने देश गणतन्त्रमय भएको बेला राजतन्त्रको एजेण्डा उठाएका कमल थापासँग पनि कुनै सल्लाह नभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖