• Thursday 29th of October 2026

हप्ता–महिना दिनमा राजसंस्था फर्किन्छ : कमल थापा


  • धनकुटा खबर
  • .

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान अब नयाँ ढंगले सशक्तरुपमा अघि बढ्ने बताएका छन् ।

काठमाडौंको शान्तिवाटीकामा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दावी गरेका हुन् । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका नेताहरु सहभागी छन् ।

अध्यक्ष कमल थापाले सबै राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन् । व्यक्ति र पात्रलाई नहेरी एजेन्डाका आधारमा हेरेर एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ ।

थापाले सबै राजावादीहरू मिलेको खण्डमा केही हप्ता वा केही महिनाभित्रैमा हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्न सकिने दाबी गरे । उनले भने, ‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौं । केही हप्ता, केही महिनाभित्रैमा हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सकिन्छ । एक पटक सबै प्रकारका स्वार्थभन्दा माथि उठेर अगाडि बढौं । हामी एक ठाउँमा उभियौं भने गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन् ।’

कार्यक्रम पूर्वमन्त्री समेत रहेका थापाले नयाँ सन्देश दिन र नयाँ संकल्प गर्न भेला भएको बताए । ‘यो जनप्रदर्शनको माध्यमबाट केही सन्देश दिन, केही संकल्प गर्न र केही उदघोष गर्न भेला भएका छौं ।’ उनले चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको हिंसात्मक प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतलाई रिहा गर्न थापाले माग गरे । उनले उनीहरु निर्दोष भएको जिकिर गरेका छन् ।

तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउने काम स्वयं सरकारबाट भएको आरोप उनले लगाए । ‘आज यो मञ्‍चबाट सरकारलाई प्रष्ट पार्न चाहन्छु, तपाईंहरुको योजना, तपाईंहरुको षडयन्त्र जनताले बुझिसकेका छन्,’ थापाले थपे, ‘तपाईंहरुले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट सशक्त ढंगले अगाडि बढ्ने छ।’

‘मलाई सार्वजनिकरूपमा भन्दा कत्ति पनि आपत्ति हुँदैन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन मेरो अत्यन्त प्रिय भाइ हुनुहुन्छ, हिजो राजनीतिक आरोह अवरोमा विभिन्न घटना–दुर्घटना भए होला, अहिलेको घडीले उहाँको सक्रिय सहभागीता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको छ,’ थापाले भने ।

उनले अहिले राजसंस्था पुनःस्थापनाका लागि एकदमै अनुकूल वातावरण बनेको दाबी गरे । यो अवस्थामा पनि एक ठाउँमा उभिन नसके इतिहासले सराप्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖