पोखरा । कास्की धम्पुसका राजेन्द्र पौडेल दसैंअघि ट्रेकिङ गए । पर्यटकीय गाउँ भएकाले पर्यटकीय गतिविधिमा संलग्न छ, धम्पुस । राजेन्द्रले भारी बोकेर कमाएको पैसाबाट साथीहरूलाई मदिरा र बियर खुवाउने निधो गरे । गाउँकै चिनजानका दौँतरीहरूलाई उनले रेस्टुरेन्टमा बोलाए । रक्सीले मात्तिँदै गए सबैजना । रक्सी पिउँदै जाँदा विवाद सुरु भयो । पौडेलले नजिकैको मौरीको घार फुटाइदिएका थिए ।
साथीहरूले घार किन फुटाएको भनेर प्रश्न गरे । पटक पटक प्रश्न उठाएपछि उनले साथी आशिषको खुट्टामा हँसियाले हानिदिए । अर्का साथी मिलनलाई पनि घाँटीमा हँसियाले हाने । त्यतिबेलासम्म झगडा सामान्यजस्तै देखिएको थियो । सबैजना छुट्टिएर आ–आफ्नो घरतिर लागे । तर, घर पुगेपछि उनीहरूलाई रक्सीले शान्त हुन दिएन । त्यसपछि सुरु भयो इगोको खेल ।
आफूमाथि हँसिया प्रहार भएपछि आशिषले त्यसै नछोड्ने निचोड निकाले । १२ बजेतिर उनले सँगै रक्सी पिएर छुट्टिएका विक्रम र लिलबहादुरलाई फोन गरेर बोलाए । अरू २ जना साथीहरूलाई पनि लिएर उनीहरू राजेन्द्रको घरमा पुगे । त्यसपछि जे भेटिन्छ त्यसैले आक्रमण गर्न थाले । ‘भाटा, मुक्का र लात्तिले हान्दै घाइते बनाएको पाइयो । त्यसपछि उनलाई घिसारेर बारीमा लगेका रहेछन्,’ कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले भने, ‘राति आमासँग सिरक मागेर बारीमै ओढेका पनि अनुसन्धानमा खुलेको छ ।’
घटनाको प्रकृति हेर्दा योजनाबद्ध हत्या पुष्टि नहुने उनले सुनाए । ‘घटनास्थलको अवस्था हेर्दा शरिरभरि निलडाम र चोट देखिन्थ्यो । उनी नग्न अवस्थामा थिए,’ पासवानले भने, ‘अनुसन्धान जारी छ । तर पहिलै योजना बनाएर हत्या गरिएको होइन । हत्या गर्ने नियतले कुटपिट भएको जस्तो पनि देखिँदैन ।’ मध्यराति राजेन्द्रमाथि आक्रमण गरेर सबैजना आफ्नो घरतिर लागे । रक्सी धेरै पिएका कारण घरकाले पनि खासै वास्ता गरेनन् । आमाले बाहिरै कम्मल ल्याएर उडाइदिइन् । बिहान उठ्दा त राजेन्द्र मृत भेटिए । साथीहरूसँग रेस्टुरेन्टमा भेटिनुअघि नै राजेन्द्र आफ्नो दिदी भिनाजुको घरमा पुगेका थिए ।
उनले आफ्नो मोवाइल हराएको भन्दै भिनाजुको मोबाइल मागे । मोबाइल नदिएपछि रिसको झोँकमा भिनाजुको मोबाइल फुटाइदिए । त्यहाँबाट हँसिया लिएर निस्किएका प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘त्यसले हामीलाई हँसियाले हान्ने ? त्यसलाई बाँकी राख्नुहुँदैन भन्दै उनीहरूबिच इगो बढेको देखिन्छ,’ कास्की प्रहरी प्रमुख एसपी नवीन कार्की भन्छन्, ‘यसमा पूर्वरिसइबी, पूर्व योजना अथवा आपराधिक उद्देश्य बनाएर घटेको घटना देखिँदैन ।’ उनका अनुसार सबैजना एकै टोलका र सँगै उठबस गर्ने साथीभाइ हुन् । ‘अत्यधिक मापसेपछि सुरु भएको सानो विवाद र त्यसपछि पलाएको इगोका कारण यो भयानक घटना हुन पुगेको देखिन्छ,’ अघि भने, ‘हाम्रो घाँटी र खुट्टामा खुर्पाले हान्ने, हामी यत्तिकै सहेर बस्ने ? भन्ने आवेगले उनीहरूले कुटपिट गरेका हुन् ।’
घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । माछापुच्छ्रे गाउँपालिका ७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षका आशिष गुरुङ, ३० वर्षका महादेव विक, मिलन विक र ३८ वर्षका लिलबहादुर पुन पक्राउ परेका छन् । सबैलाई कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको कार्कीले जानकारी दिए ।
घटना गत कात्तिक ८ गते रातिको हो । घटनामा प्रयोग भएका २ वटा बाँसको भाटा, एउटा दाउरा, एउटा हँसिया, बियर र पानीको बोतल प्रहरीले बरामद गरेको छ । कात्तिक ९ गते बिहान स्थानीयले बारीको पाटामा राजेन्द्रको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिचोक र जिल्लाबाट विशेष अनुसन्धान टोली घटनास्थल पुगेको थियो । एसपी कार्की आफैले अनुसन्धानको नेतृत्व गरेका थिए ।
