• Thursday 29th of October 2026

एमालेमा जान मन लागेकाहरुले बाटो तताए हुन्छ, एकता हुँदैनः राजेन्द्र पाण्डे


  • धनकुटा खबर
  • .

काठमाडौं, २० वैशाख । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संसद् विघटना गलत थियो भनेर केपी शर्मा ओलीले माफी नमागेसम्म एकता नहुने बताएका छन् । आज (शनिबार) पार्टीनिकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीले तत्कालीन समयमा पार्टीमा कुनै सल्लाह नगरी आफूखुसी संसद् विघटन गरेर कम्युनिष्ट आन्दोलन धराशायी बनाउने अपराध गरेको बताए । ओलीले त्यसको प्रायश्चित गर्नुपर्ने उनको भनाइ छ ।

ओलीले प्रायश्चित नगरी आफूहरुले एकता गर्न नसक्ने बताउँदै उनले एमालेमा मिल्न पाए हुन्थ्यो भन्ने लाग्नेहरुले त्यतैतिर बाटो तताउँदा हुने बताए । आफूहरुलाई भने त्यो प्रकारको गलत निर्णय स्वीकार्य नरहेको नेता पाण्डेले बताए ।

‘जुन कारणले हामीले विद्रोह गरेर आयौं, त्यो कारण भनेको के हो भन्दा नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षले पार्टीमा विना कारण कुनै सरसल्लाह नगरी, कुनै निर्णय नगरी संसद् विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाउने जुन अपराध गर्यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन, कहिल्यै एकता हुँदैन । कोही–कोही नेतालाई मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ला । मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ने नेताले त्यस्तै ढंगले बाटो तताए हुन्छ,’– उनले भने ।

एकीकृत समाजवादीका सांसदहरु प्रेम आले, किसान श्रेष्ठ र धनबहादुर बुढा, नेतृ रामकुमारी झाँक्रीलगायतले पार्टी विभाजनको औचित्यता पुष्टि हुन नसकेको बताउँदै आएका छन् । उनीहरुले एमालेसँग मिल्नुपर्ने धारणासमेत राख्न थालिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖