• Thursday 29th of October 2026

वामदेवलाई रोक्ने ओलीको अर्को प्रयास, सुर्य थापाले निवासमै गएर भेटे !


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रियसभा सदस्य वामदेव गौतमसँग भेट गरेपछि वामदेव बारेको राजनीति फेरी तरंगित बनेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने थापाले शनिबार बिहानै वामदेवको भैंसेपाटीस्थित निवासमा पुगेर भेटघाट गरेपछि राजनीतिक तरंग उत्पन्न भएको हो ।

थापाले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै भेटघाट महत्वपूर्ण भएको जानकारी दिए । उनले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा आफूहरूले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेको समेत उल्लेख गरेका छन् ।

थापाले लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ राष्ट्रियसभा सदस्य कमरेड वामदेव गौतमसँग भैंसेपाटीस्थित निवासमा महत्वपूर्ण भेटघाट भएको छ । मूलतः प्युठानमा उहाँको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउँदो- जाग्दो नै रहेको छ । हामीले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुवैले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेका छौं ।’

शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्बजनिक भएको संसदको संयुक्त बैठकमा वामदेव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सँगै बसेपछि बामदेव अब एकीकृत समाजवादीमा जाने अड्कल बाजी शुरु भएको थियो ।

त्यस घटनापछि ओलीले थापालाई वामदेव भेट्न पठाएको राजनीतिक वृतमा चर्चा छ ।

यसअघि नै वामदेव पटक पटक एकीकृत समाजवादीमा जाने तयारी गर्दा ओलीले रोकिरहेका छन् । यसअघि वामदेवको दलसँग एकता गर्ने अन्तिम सहमति गरेर ओलीले वामदेवलाई अलपत्र पारेको बताइएको थियो । अन्तिम समयमा एकता नहुने पार्टी प्रवेश गर्नुपर्ने भनेर अलपत्र पारिएको वामदेव निकटहरुले बताउने गरेका छन् ।

अर्कोतर्फ एक समय एकीकृत समाजवादीमा तेस्रो वरियतासहित समाहित हुन ठिक्क परेका वामदेव ओलीको फोनपछि रोकिएका थिए । वामदेवले पटक पटक सहमति नजिक पुगेर धोका दिएको भन्दै माधवकुमार नेपालले भने उनलाई भित्र्याउन अहिले त्यति चासो नदिएको बताइएको छ ।

राजनीतिक रुपमा पटक पटक ओलीबाट धोका पाएका वामदेवलाई ओलीले यस पटकपनि एकीकृत समाजवादीमा जानबाट रोक्न सुर्य थापालाई प्रयोग गरेको आजको भेटले देखाएको एकीकृत समाजवादीमा चर्चा चलिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖