काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुटुमा समस्या देखिएपछि उनी उपचारका लागि सीसीयुमा भर्ना भएका छन्।
उनी बिहीबार त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सीसीयु कक्षमा भर्ना भएका छन्।
नियमित चेकजाँचका लागि पुग्ने उनी बिहीबार पनि पुग्ने क्रममा मुटुमा समस्या देखाएको बताइएको छ।
छातीको इको र इसिजी गरिँदा मुटुका भल्भमा केही अवरोध देखिएपछि एन्जियोग्राफी विधिद्वारा सफा गर्नका लागि उनी त्यहाँ भर्ना भएका हुन्। उक्त विधिअन्तर्गत शरीरमा कुनै प्रकारको चिरफार गर्नु नपर्ने उपचार प्रक्रिया हो। जसअन्तर्गत नशामा जमेका अनावश्यक बोसोजन्य तत्त्व फ्याँकिन्छ।
यसलाई अति सामान्य उपचार पद्दती मानिएको छ।
मुटु वरिपरिका नशा र धमनीमा थोरै थोरै गरेर बोसोको मात्रा बढेपछि मानिसलाई हृदयाघात हुने हो। सबैले माधव नेपालले झैँ नियमित स्वास्थ्य परीक्षण गर्ने र बोसो जमेको छ भने एन्जियोग्राफी गर्दा हृदयघातको खतरा घट्छ।
एन्जियोग्राफी गरेपछि शरीरलाई केही दिन आराम दिनुपर्ने कारण डाक्टरहरूले अस्पतालमै बस्न भनेका कारण शुक्रवार पनि उनी त्यहीँ रहने छन्।
