काठमाडौं । भारत र पाकिस्तानबीच चुलिएको सैन्य तनाव अन्ततः पूर्ण युद्धविराममा परिणत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार साँझ सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मार्फत दुवै राष्ट्रले “पूर्ण र तत्काल युद्धविराम” मा सहमति जनाएको औपचारिक जानकारी दिएका छन्।
“संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान दुवैले पूर्ण युद्धविराममा सहमति जनाएका छन्,” ट्रम्पले लेखेका छन्, “साझा बुद्धिमत्ता र विवेक प्रयोग गरेर निर्णय लिएका दुबै मुलुकलाई बधाई दिन चाहन्छु।”
गएको केही सातादेखि भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध लक्षित सैन्य कारबाही (‘अपरेशन सिन्दूर’) सुरु गरेपछि क्षेत्रीय तनाव चुलिएको थियो। भारतीय कारबाहीमा आतङ्ककारी संरचनाहरूलाई लक्षित गरिएको दाबी गरिए पनि पाकिस्तानले त्यसलाई आफ्नो सम्प्रभुतामाथिको हमला भन्दै आपत्ति जनाएको थियो।
संयुक्त राज्य अमेरिकाले पछिल्ला दिनहरूमा कूटनीतिक संवाद तीव्र पार्दै दुवै पक्षलाई संयम अपनाउन आह्वान गर्दै आएको थियो। ट्रम्पको यो घोषणाले दक्षिण एशियामा संभावित ठूलो सैन्य द्वन्द्व टर्निएको संकेत गरेको छ।
यद्यपि भारत र पाकिस्तानका आधिकारिक सरकारहरूले यो युद्धविरामसम्बन्धी सहमतिलाई औपचारिक रूपमा पुष्टि गरेका छैनन्। क्षेत्रीय स्थायित्वका लागि यो सहमति महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ भने विश्लेषकहरू अझै पनि दीर्घकालीन समाधानका लागि गम्भीर कूटनीतिक प्रयास आवश्यक रहेको बताउँछन्।
राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले अमेरिका अझै पनि विश्व राजनीतिको संकट समाधानमा प्रभावकारी कूटनीतिक खेलाडीको रूपमा सक्रिय रहेको देखिएको छ। आगामी दिनमा यस युद्धविरामले स्थायी शान्तिमा रूप लिन सक्ने हो कि भन्नेमा अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दो छ।
