• Wednesday 28th of October 2026

कोरिया जान ‘एनओसी’ बन्द


  • धनकुटा खबर
  • .

काठमाडौं – दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने नो अब्जेक्सट सर्टिफिकेट (एनओसी) बन्द गरिएको छ । सरकारले तत्कालका लागि एनओसी बन्द गरेको जनाएको छ ।

सरकारले एनओसी बन्द गर्दा भाषा अध्ययन गरेर पैसा समेत बुझाइसकेको विद्यार्थीहरू बिचल्लीमा पर्ने भन्दै यो वर्षको एनओसी भने नरोक्न शिक्षामन्त्री रघुजी पन्तमाथि दबाब बढेको छ । जुन–जुलाई इन्टेकको लागि सबै रकम बुझाइसकेका गरिब तथा मध्यमवर्गका विद्यार्थीले एनओसी नपाए उनीहरूको लगानी र समय समे बर्बाद हुने भएकाले अर्को इन्टेकबाट मात्रै रोक्न शिक्षा मन्त्रालय सकारात्मक बनेको छ ।

सिओलस्थित नेपाली दूतावासको सिफारिसमा एनओसी दिन बन्द गरिएको हो । अध्ययनका लागि भन्दै कोरिया जाने विद्यार्थीहरू विभिन्न समस्यामा फस्ने पाइएको भन्दै दूतावासले एनओसी रोक्न माग गरेको थियो । विद्यार्थीलाई कन्सल्टेन्सीहरूले कोरिया जाने बित्तिकै अवैधानिकरूपमा भए पनि काम गर्न पाइन्छ भनेर आश्वासन दिने गरेको र उता गएपछि सोचे जस्तो नहुँदा विद्यार्थीहरू मानसिक तनाव र समस्यामा परेको दूतावासले उल्लेख गरेको छ ।

दूतावासले लेखेको पत्रमा भनिएको छ, ‘नेपालबाट डी फोर भिसामा कोरिया प्रवेश गर्दा भाषा अध्ययन सकेपछि कुन विश्वविद्यालयमा इनरोल हुने भन्ने कुरा नेपालबाट कन्सल्टेन्सीहरूले सुनिश्चित नगरिकन, आउनेबित्तिकै काम गर्न पाउने र पैसा यथेष्ट कमाउने झूटो आश्वासन दिएर पठाउने गरेका छन् । कन्सल्टेन्सीहरूले कलिला विद्यार्थीहरूको ब्रेनवास गरेर अवैधानिक तरिकाले भएपनि कोरियामा काम गर्न पाइन्छ भनेर कोरियाली सपनाको व्यापार गरेका छन् ।

डी फोर भिसाको नाममा अत्यधिक रकम असुली गर्ने, एउटै कामका लागि तीन-चार पटकसम्म पैसा उठाउने, कोरियामा भएका एजेन्टमार्फत कोठा खोजिदिने लगायत विभिन्न बहानामा फेरि पनि पैसा लिई लुट धन्दा नै चलाउने गरेका भनी समस्यामा परेका विद्यार्थीहरूबाट दैनिकरूपमा गुनासो आउने गरेको छ,’।

दूतावासले कन्सल्टेन्सीहरूले भने जस्तो अवस्था नहुँदा र आर्थिक अभावले गर्दा १८-१९ वर्षका विद्यार्थीहरू ‘लिभिङ टुगेदर’ मा बस्ने र केही समयपछि शारीरिकरूपमा शोषणमा परेको भनी गुनासो गर्न आउने गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖