• Wednesday 28th of October 2026

गणतन्त्र ल्याउन सैनिक हिरासतमा ६ महिना बिताएको हुँ : दुर्गा प्रसाईँ


  • धनकुटा खबर
  • .

काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईँले गणतन्त्र ल्याउन आफू ६ महिना हिरासतमा बसेको बयान दिएका छन् ।

प्रहरीले गरेको राज्यविरुद्ध कसरको अनुसन्धानमा उनले आफू २०५७ सालदेखि माओवादी पार्टीमा आवद्ध भएको बताएका छन् । गणतन्त्र ल्याउनका लागि मिति २०६० साल माघ १० गतेदेखि सैनिक हिरासत चारआलीको बटुक दल गणमा ६ महिना बिताएको र माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग लगभग २० वर्ष बिताएको बयानमा उनले बताएका छन् ।

२०७७/७८ सालदेखी नेकपा एमालेमा सक्रिय भई नेकपा एमालेको केन्द्रिय सदस्य भई ३ वर्ष सम्म काम गरी दुबै अध्यक्षहरुको चरित्र थाहा पाएपछि र दुवै पार्टीको व्यवहार ठीक नलागेको कारण राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियान कम्पनी रजिष्ट्रार गरी अभियानमा लागेको बयानमा बताएका छन् ।

२०८१ चैत १५ गते तिनकुनेमा आयोजित प्रदर्शनको कार्यक्रम आफू समेतले संचालन गरेको महाअभियान र राज संस्था पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको संयुक्त आयोजनामा भएको उनको भनाइ छ । कार्यक्रमको आयोजना आफू समेत सदस्य रहेको ’राज संस्था पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी तथा आन्दोलन परिचालन समितिका संयोजक डा धवल शमसेर राणा बिच छलफल भई आफ्नो अध्यक्षतामा गठित महाअभियानको नामबाट महाअभियानको लेटर प्याड प्रयोग गरी जिल्ला प्रशासन कायार्लय काठमाडौमा निवेदन दिएको बताएका छन् ।

चैत १५ गते तीनकुने आइपुग्दा मञ्च भएको स्थानमा भेला जम्मा भएका सर्वसाधारण मानिसहरु उक्त चौरबाट भागदौड गरिरहेको, मञ्चमा धुवाको मुस्लो उडिरहेको कोही भुईमा लडेको देखेको र सोही समयमा आफू चढेको गाडीमाथि पनि अश्रुग्यास प्रहार भएको तथा आफ्नो कान नजिकबाट आवाज आइ गोली गएकाले आफूलक्षित घुसपैठ भएको आरोप उनले लगाएका छन् ।

त्यसपछि गाडीको पछाडिको डालाबाट हाम फाली गाडी चलाई रहेको ड्राईभरलाई बाहिर निकाली उक्त गाडीको ड्राईभरको सिटमा आफैं बसी आफ्नो ज्यान जोगाउन सुरक्षाको लागी सबै जना आओ, आओ भन्दै आफु बाच्नको लागी कार्यक्रममा आएका अन्य मानिसहरुलाई समेत बचाउन भनी अरुलाई समेत बोलाई प्रहरीको घेरा भित्र जाने भनी गाडी चलाएको बयान दिएका छन् ।

आफू कार्यक्रम स्थल पुग्दा कुरूक्षेत्र जस्तो रणभूमिमा परिणत भई मानिसहरु भागाभाग भई सकेको कारणले असुरक्षित भएको महसुस गरेपछि गाडी आफैंले चलाई अगाडि बढेको स्वीकारेका छन् ।

उनले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राम्रोसँग चिन्ने र उनीसँगको आफ्नो सम्बन्ध ’राजा’ र जनता बिचको सम्बन्ध भएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖