• Monday 5th of October 2026

मिस इंग्ल्याण्डले छाडिन् मिस वर्ल्ड, भनिन् – मलाई वेश्या जस्तो महसुस गराइयो


  • धनकुटा खबर
  • .

हैदराबाद । मिस इंग्ल्याण्ड मिला म्यागी हैदराबादमा आयोजना भइरहेको प्रतियोगिताबाट बाहिरिएकी छिन्। इंग्ल्याण्डको पत्रिका द सनलाई दिएको अन्तर्वार्तामा उनले मिस वर्ल्डका आयोजकहरूमाथि गम्भीर आरोप लगाएकी छिन्।

म्यागीका अनुसार उनलाई मिस वर्ल्डका फाइनान्सरहरूसँग सम्बन्ध स्थापित गर्न दबाब दिइएको थियो। म्यागीले आफूलाई प्रतियोगितामा वेश्या जस्तो महसुस गराइएको बताएकी छन् ।

यद्यपि, मिस वर्ल्डकी सीईओ जुलिया मोर्लीले म्यागीको आरोपलाई अस्वीकार गर्दै आधिकारिक विज्ञप्ति जारी गरेकी छिन्। मिस वर्ल्ड २०२५ भारतको हैदराबादमा जारी छ । फाइनल मे ३१ मा हुनेछ।

२४ वर्षीया मिला म्यागी मे ७ मा हैदराबाद पुगेकी थिइन्। तर, मे १६ मा, मिला म्यागी प्रतियोगिता बिचैमा छोडेर बेलायत फर्किइन्।

मिस वर्ल्डको ७४ वर्षे इतिहासमा इंग्ल्याण्डको प्रतिनिधित्व गर्ने प्रतियोगी अचानक परिवर्तन गरिएको यो पहिलो पटक हो । मिलालाई मिस इंग्ल्याण्डको उपविजेताले प्रतिस्थापन गरेकी छिन्।

म्यागीको आरोप – पाहुनाहरूलाई खुसी राख्न दबाब दिइयो
द सनको अन्तर्वार्तामा म्यागीले भनिन्, ‘प्रतियोगितामा हामीहरूलाई कार्यक्रममा आर्थिक योगदान गरिरहेका वृद्ध पुरुषहरूसँग सोसलाइज हुन र समय बिताउन भनिएको थियो। सबै प्रतियोगीहरूलाई बिहानको खाजा खाँदादेखि दिनभरि मेकअप गर्न र भारी गाउन लगाउन बाध्य पारियो ।’

उनले थपिन्, ‘प्रत्येक टेबलमा ६ जना पाहुना र २ जना केटीहरू बसाइन्थ्यो । केटीहरूलाई पाहुनाहरूलाई खुसी राख्न भनिएको थियो। यो सबै देख्दा मलाई धेरै गलत लाग्यो, म त्यहाँ कसैलाई हँसाउन र मनोरञ्जन दिन आएको थिइनँ। मलाई वेश्या जस्तो महसुस गराइएको थियो। हामी यहाँ सामाजिक मुद्दाहरूको बारेमा कुरा गर्न आएका थियौँ, तर त्यहाँका मानिसहरू यसको बारेमा सुन्न पनि तयार थिएनन्।’

‘त्यहाँ केहि चीजहरू थिए जसले तपाईंलाई असहज महसुस गराउँथ्यो। प्रतियोगितामा सहभागी १०९ जना केटीहरूलाई ‘बोरिङ’ भएको भन्दै गाली गरिएको थियो। सबैलाई बाँदर जस्तै व्यवहार गरिन्थ्यो। जुन मैले सहन सकिनँ।’

मिस वर्ल्डकी सीईओले भनिन्- आमाको स्वास्थ्य बिग्रिएपछि कार्यक्रम छोडिन्
मिस वर्ल्डकी सीईओ तथा अध्यक्ष जुलिया मोर्लीले मे २४ मा एक आधिकारिक विज्ञप्ति जारी गरिन्। आफ्नी आमाको बिग्रँदो स्वास्थ्यका कारण मिस इंग्ल्याण्डले अचानक मिस वर्ल्ड छोड्ने निर्णय गरेको उनले दाबी गरेकी छन् ।

विज्ञप्तिमा मिलाको आरोपबारे पनि स्पष्ट पारिएको छ। यसमा भनिएको छ, ‘दुर्भाग्यवश, हामीले थाहा पाएका छौँ कि बेलायतका केही मिडिया आउटलेटहरूले झूटा र मानहानिपूर्ण समाचार प्रकाशित गरेका छन्। यी दाबीहरू पूर्णतया झूटा छन्।’

अब मिस इङ्ग्ल्याण्डकी उपविजेता चार्लोट ग्रान्टले मिला म्यागीको स्थान लिएकी छिन् । फाइनलको केही दिन अगाडि भएको यो परिवर्तनले इंग्ल्याण्डको दाबीमा प्रतिकूल प्रभाव पार्नेछ किनकि उप-शीर्षकको लागि प्रतिस्पर्धा पहिले नै चलिरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖