काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले संसद्मा सफाइ दिनुअघि आफूले प्रश्न सोध्न पाउनुपर्ने अडानका साथ संसद्मा कडा रूपले प्रस्तुत हुने निर्णय गरेको छ ।
सोमबार रास्वपाको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले अडानसहित कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको हो । भिजिट भिसामा गृहमन्त्री लेखक समेत प्रश्नको घेरामा रहेकाले घरबाट प्रश्नको उत्तर बनाएर सदनमा वाचन गर्दैमा गृहमन्त्रीले उन्मुक्ति नपाउने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
‘भिजिट भिसा प्रकरणमा गृहमन्त्री नै संलग्न भएको खबर बाहिरिएको छ । यसमा उहाँले सदनमा सफाइ दिनुअघि हामीले प्रश्न सोध्न पाउनुपर्छ ।
भोलिको परिस्थिति हेरेर निर्णय लिने विषय भएकोले अहिले नै योजना बनाउने कुरा हुँदैन । संसद्मा दुई तिहाइको दम्ब चल्दैन । सत्तापक्षको रवाफ हेरेर कडा रूपमा प्रस्तुत हुन्छौँ । पार्टीको हिजो बसेको केन्द्रीय समितिको निर्देशन अनुसार सदनमा प्रभावकारी रूपमा प्रस्तुत हुने दलले निर्णय गरेको छु,’ झाले भने ।
सदन चल्नुअघि आफूहरूले प्रश्न उठाउन नपाए संसद् चल्न नसक्ने उनले स्पष्ट पारे । साथै अन्य विपक्ष दलहरूको पनि भिजिट भिसा प्रकरणमा एक ठाउँमा आउने झाले विश्वास व्यक्त गरे ।
