• Wednesday 28th of October 2026

तारा राजावादीको बयान : पत्रकार सुरेश रजक मृत भेटिएको घरमा मैले आगो लगाएको हुँ


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजावादी सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य तारा राजावादी भनिने सरोज गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आफूले आगो लगाएको बयान दिएका छन् ।

आइतबार दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध पनि जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

प्रहरीसामु बयानका क्रममा आफू एटीएफ चैत १५ गतेको कार्यक्रम आयोजनाका सम्बन्धमा पटक पटक दुर्गा प्रसाई, धवल शमशेर जबरा, रवीन्द्र मिश्रलगायतसँग कुराकानी भएको उनले बताएका छन् ।

त्यसक्रममा चैत १५ गते आफू बिहान १० बजे नै उक्त स्थानमा पुगेको बताएका छन् । रविन्द्र मिश्र र धवल शम्शेरले स्टेजमा भाषण गरिरहेको बेला दुर्गा प्रसाईँसहितको समूह निषेधित क्षेत्रमा गइ अमानवीय र अराजक शैलीमा संसद् भवन कब्जा गर्नुपर्छ भनी उत्तेजित बनाउँदै गाडी कुदाएको बयानमा उनले बताएका छन् ।

त्यसपछि आफूले भिडलाई उत्तेजित बनाउँदै त्यसतर्फ लगेको र प्रहरीले रोकेपछि बिचबाट आफू र प्रसाईँ हिँडेर कार्यक्रम स्थल पुगेको उनले बताएका छन् ।

स्टेजबाट मिश्र र शम्शेरले उत्तेजित अभिव्यक्ति दिएपछि प्रहरीमाथि ढुङ्गा मुढा सुरु गरेको र त्यसै क्रममा ५ तल्ले पक्की घरमा सटर च्यानल गेटमा लगाएको ताला फोडी अनधिकृत रुपमा भित्र छिरेको पनि उनले बताएका छन् ।

तोडफोड, आगजनी र लुटपाट भैरहेको देखेपछि गोकर्ण शाहीको हातमा रहेको लाइटर लिइ आगो लगाएको उनले स्वीकारेका छन् ।

आगो बलेपछि त्यहाँबाट भागी डेरा कोठा तर्फ गएको र आफू समेतले लगाएको उक्त आगजनीको कारणले फोटो भिडियो खिच्दै गरेका एभिन्यूज टेलिभिजनका सुरेश रजक नाम गरेका पत्रकारको समेत जली मृत्यु भएको सामाजिक सञ्जालबाट थाहा पाएको उनले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖