• Wednesday 28th of October 2026

शेखरविरुद्ध किन खनिए शशांक ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसमा कोइराला परिवारभित्र भएको बेमेलको विषय नौलो होइन । वि.सं.२०१५ साल अघि नै मात्रिकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालाबिच विवाद भएपछि मात्रिकाले पार्टी नै छोडेका थिए । तर, सार्वजनिक रूपमै स्पष्टीकरण सोध्नुपर्ने धारणा बाहिर आएको थिएन ।

गत सोमबार जेठ १२ गते सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग पूर्वममहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइरालालाई स्पष्टीकरण सोध्नुपर्ने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा पार्टीको तर्फबाट गृहमन्त्री रहेका रमेश लेखकलाई भिजिट भिसा सेटिङ गरेको आरोप लागेपछि डा. शेखरले निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए । शेखरको त्यही अभिव्यक्तिका कारण उनलाई स्पष्टीकरण सोध्नुपर्ने धारणा शशांकले राखेका हुन् ।

शेखरले जेठ १० गते शनिबार विराटनगरमा सञ्चारकर्मीहरूसँग गृहमन्त्री लेखकले आरोप लागेपछि निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए । विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको उदाहरण रहेकाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने सुझाव शेखरको थियो ।

‘गृहमन्त्रीले नैतिकताको हिसाबमा म क्लिन छु । मैले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस् भने भैहाल्यो नि’, शेखरले सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘त्यसले मोरल स्ट्याटस देखिन्छ ।’

यही अभिव्यक्ति देखाउँदै शशांकले पार्टी पदाधिकारी बैठकमा स्पष्टीकरण सोध्नुपर्ने माग राखेको बाहिर आएर सञ्चारकर्मीहरूलाई बताएका थिए । ‘सभापतिलाई हामीले गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका नेताहरूलाई बोलाएर सोध्न भनेका छौँ । एकापसमा मुठभेड गरेर कांग्रेसलाई फाइदा हुँदैन । शेखर, सुनिल र राजेन्द्र बजगाईँसँग स्पष्टीकरण सोध्न भनेका छौँ । पार्टीका नेताविरुद्ध नै लाग्ने नेताहरूसँग के कति कारणले भनेको हो त्यसबारेमा स्पष्टीकरण लिनै पर्छ,’ शशांकले बाहिर आएर सञ्चारकर्मीहरूसँग भनेका थिए ।

पदाधिकारी बैठकमा गृहमन्त्रीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोध्नुपर्ने माग प्रतिनिधिसा सदस्यद्वय राजेन्द्र बजगाईं र सुनील शर्मालाई पनि राखेका छन् ।

रोचक त के छ भने शशांकले जसलाई स्पष्टीकरण सोध्नुपर्ने माग राखेका छन्, त्यसमध्येका एक सांसद बजगाईंले उपहार दिएको गाडी उनले चढिरहेका छन् ।

सांसद बजगाईंले नै सामाजिक सञ्जालमा आफूले शशांकलाई कालो रङको बा १७ च ६६६४ नम्बरको महिन्द्र कम्पनीको एसयुभी गाडी उपहार दिएको उल्लेख गरेका छन् । शशांकले अहिले पनि त्यही गाडी चढिरहेका छन् ।

शशांक गत फागुन एक गते बसेको कांग्रेसका संस्थापन पक्षीय नेताहरूको गुटगत बैठकमा सहभागी भएर संस्थापन गुटको नेता बनेका छन् । यस्तै उनी पार्टीको १५ औँ महाधिवेशनमा संस्थापनबाट सभापतिको उम्मेदवार बन्न प्रयास गरिरहेका छन् । निकटस्थ स्रोतका अनुसार शशांकले सभापति देउवा र उनका विश्वासपात्र गृहमन्त्री लेखकको प्रिय बन्न शेखर, शर्मा र बजगाईंलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका हुन् ।

जेठ ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराई र उनीसँग सम्बन्धित डिभाइस नियन्त्रणमा लिएको छ । त्यसमा गृहमन्त्री लेखकमाथि पनि प्रश्न उठिरहेको छ ।

शशांक निकट नेताहरू र संस्थापन पक्षीय एक पदाधिकारीका अनुसार शशांक शेखरसँग आफ्नो जिल्लाको कार्यक्रममा एक्लै गएको भन्दै पनि रिसाइरहेका छन् । केही पदाधिकारीहरूसँग पनि अनौपचारिक रूपमा शशांकले यो विषय उठाएका स्रोतले बतायो ।

शेखर नेपाल थारू संघ नवलपुरको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्न बैशाख २० गते शशांकको गृह जिल्ला र उनकै निर्वाचन क्षेत्रको थारु राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्र, कावासोती नवलपुर गएका थिए । त्यसबेला शेखरको कार्यक्रमबारे जानकारी दिन स्वकीय सचिव दिनेशचन्द्र थपलियाले सञ्चारकर्मीहरूलाई पठाएको विवरण अनुसार शेखरसँग केन्द्रीय सदस्यहरू बलबहादुर केसी, उदय शमशेर राणा, योगेन्द्र चौधरी र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओम घर्तीमगर पनि गएका थिए । त्यतिमात्रै होइन शेखरसँग शशांकका स्वकीय सचिव भरत तिवारी पनि पुगेका थिए ।

यसमा शशांकको सबैभन्दा ठुलो असन्तुष्टि यही रहेको स्रोत बताउँछ । शेखरका स्वकीय सचिव थपलियाले अरू कुनै पदाधिकारी नबोन्दा शशांकले किन सानो विषय बोल्दा स्पष्टीकरण सोध्ने अभिव्यक्ति दिए भन्ने विषयमा आफूहरू जानकार नभएको बताए ।

‘सम्बन्ध नराम्रो छैन । एउटा विषय बोल्दैमा किन स्पष्टीकरण नै सोध्नुपर्छ भनेर धारणा राख्नुभयो । हामीलाई जानकारी छैन,’ थपलियाले रातोपाटीसँग भने, ‘थाहा हुने कुरा पनि भएन ।’

यस विषयमा जानकारी लिन खोज्दा शशांक र उनका स्वकीय सचिव तिवारी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖