• Wednesday 28th of October 2026

शेखर पक्षका सांसदले उपसभामुखलाई हटाउने खाली पानामा हस्ताक्षर गरेनन्


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउनका नेपाली कांग्रेसले सङ्कलन गरेको पार्टीका सांसदहरूको हस्ताक्षरमा नेता डा. शेखर कोइराला निकट सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनीहरूले प्रयोजन नखुलाई खाली कागजमा हस्ताक्षर नगर्ने बताएका हुन् ।

पार्टीका तर्फबाट प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका सांसदहरूलाई हस्ताक्षरका लागि बोलाएका थिए । त्यो जानकारी डा. कोइराला निकट सांसदहरूले डा. कोइरालालाई गराएका थिए । त्यसपछि कोइरालाले प्रयोजन खुलेपछि मात्रै हस्ताक्षर गर्न निर्देशन दिएका स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार सांसद कान्छाराम तामाङले डा. कोइरालालाई फोन गरेर हस्ताक्षर गर्ने कि नगर्ने भनेर भनेका थिए । कोइरालाले ‘प्रयोजन खुल्ने भए गर्नुस्, नखुल्ने भए नगर्नुस्’ भन्ने जवाफ दिएका थिए ।

कोइरालाले यस विषयमा आफू पक्षका सांसदहरू हृदयराज थानी, सरिता प्रसाईँ, दीपक गिरी लगायतसँग पनि कुरा गरेको स्रोतले बतायो । उनले कुरा गरेका सांसदहरू हस्ताक्षर गर्न नआएको कांग्रेस संसदीय दल स्रोतले जानकारी दियो ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरूबिच उपसभामुखविरुद्ध पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेपछि अहिले कांग्रेस एमालेका प्रमुख सचेतकहरूले पार्टीका सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖