वासिङ्टन डीसी । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले टेक्सासकी एक ‘मोस्ट वान्टेड’ महिलालाई भारतबाट पक्राउ गरेको छ ।
सिन्डी रोड्रिगेज सिंह नामकी यी महिलामाथि आफ्नै ६ वर्षीय छोरा नोएल रोड्रिगेजको हत्या गरेको गम्भीर आरोप छ ।
एफबीआईका अधिकारी काश पटेलले बिहीबार यो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल एक्समा बताएअनुसार सिन्डीले आफ्नो ठेगानाबारे झूट बोलेकी थिइन् र त्यसपछि भारत भागेकी थिइन् ।
भारतीय अधिकारीहरू र इन्टरपोलको सहयोगमा एफबीआईले सिन्डीलाई २० अगस्ट २०२५ मा भारतमा पक्राउ गरेको हो । उनलाई अमेरिका फिर्ता पठाइएको छ, जहाँ उनीमाथि कानुनी कारबाही अगाडि बढाइनेछ ।
