काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूको ओटीटी प्रसारण अधिकार डिश मिडिया नेटवर्क लिमिटेडलाई प्रदान गरिएको जनाउँदै अनधिकृत डिजिटल स्ट्रिमिङ नगर्न सबैलाई आग्रह गरेको छ।
क्यानले जारी गरेको सार्वजनिक सूचनाअनुसार भारत बाहेक अन्य सबै देशमा एनपीएलका खेलहरूको ओटीटी प्रसारण अधिकार डिशहोमसँग रहेको छ। दर्शकहरूले डिसहोम गो एप मार्फत सम्पूर्ण खेल हेर्न सक्ने व्यवस्था मिलाइएको संघले जनाएको छ।
डिशहोमको OTT बाहेक अन्य डिजिटल प्लेटफर्म—जस्तै YouTube, Facebook, TikTok, Instagram, Twitter, Telegram वा कुनै पनि वेब एप—बाट खेल प्रसारण गर्नु अवैध हुने चेतावनी दिइएको छ। अनधिकृत सामग्री बिक्रि-वितरण, रेकर्डिङ, पुनःप्रसारण वा सम्पादन जस्ता गतिविधि दण्डनीय हुने क्यान र डिशहोमले स्पष्ट पारेका छन्।
संघले दर्शक तथा विज्ञापनदातालाई आधिकारिक प्लेटफर्ममै भर पर्न आग्रह गर्दै अनधिकृत लिंक तथा साइट प्रयोग गर्दा व्यक्तिगत तथा वित्तीय जानकारी चुहिन सक्ने भएकाले यस्तो जोखिमपूर्ण कार्य नगर्न अनुरोध गरेको छ।
अनधिकृत प्रसारण देखिएको खण्डमा तुरुन्त क्यान वा डिशहोमलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।
