बंगलादेशमा जारी हिंसात्मक प्रदर्शनका क्रममा एक हिन्दू युवकलाई भीडले कुटपिट गरी हत्या (लिंचिङ) गरेको पुष्टि भएको छ। उक्त घटना मायमनसिंह जिल्लामा रातभर चलेको प्रदर्शनका बेला भएको सरकारी अधिकारीहरूले जनाएका छन्।
घटनापछि बंगलादेश सरकारले कडा प्रतिक्रिया दिँदै हिन्दू युवकको लिंचिङको कडा शब्दमा निन्दा गरेको छ। सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
“मायमनसिंहमा एक हिन्दू नागरिकको लिंचिङ घटनाको हामी पूर्ण रूपमा निन्दा गर्दछौं। नयाँ बंगलादेशमा यस्ता हिंसात्मक कार्यको कुनै स्थान छैन। यस जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई कुनै हालतमा उन्मुक्ति दिइने छैन।”
यो घटना विद्यार्थी नेता शरीफ ओस्मान हादीको मृत्युपछि सुरु भएको हिंसात्मक प्रदर्शनको पृष्ठभूमिमा भएको हो। हादीको निधनपछि देशका विभिन्न स्थानमा प्रदर्शन उग्र बनेका थिए।
सरकारले जारी गरेको विज्ञप्तिमा देशमा फैलिएको अशान्तिका लागि ‘केही सीमित चरम तत्व’ जिम्मेवार रहेको दाबी गरेको छ। साथै, आम नागरिकलाई संयम अपनाउन र हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ।
मानवअधिकारकर्मी र अल्पसंख्यक अधिकारकर्मीहरूले यस घटनालाई गम्भीर चिन्ताको विषय भन्दै दोषीमाथि तुरुन्त कानुनी कारबाहीको माग गरेका छन्। घटनाले बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षा र भीड हिंसाको नियन्त्रणबारे पुनः गम्भीर प्रश्न उठाएको छ।
घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको बंगलादेशी अधिकारीहरूले बताएका छन्।
