• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भेनेजुएलामा अमेरिकाद्वारा सैन्य आक्रमण


  • धनकुटा खबर
  • .

काराकास । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका विभिन्न स्थानमा आक्रमण गर्न आदेश दिएका छन्। अमेरिकी अधिकारीहरूले बीबीसीको साझेदार सीबीएस न्युजलाई दिएको जानकारी अनुसार भेनेजुएलाका सैन्य अखडाहरूलाई निशाना बनाएर यो आक्रमण गरिएको हो।

शनिबार बिहानैदेखि भेनेजुएलाको राजधानी काराकासमा ठुला विष्फोटका आवाजहरू सुनिएका छन् भने आकाशमा विमानहरू उडेको देखिएको छ।

प्रत्यक्षदर्शीका अनुसार सहरको मध्यभागमा रहेको ‘ला कार्लोटा’ सैन्य एयरफिल्ड र मुख्य सैन्य आधार शिविर ‘फुएर्टे ट्युना’ मा आक्रमणको प्रभाव देखिएको छ। यी दुवै स्थानमा विस्फोट भएको भिडियोहरू सार्वजनिक भएका छन्। आक्रमण लगत्तै वरपरका बस्तीहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ। सहरका विभिन्न स्थानमा एकैसाथ विस्फोटको आवाज सुनिएको र राजधानी माथि धुवाँको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो घटना ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि केही हप्तादेखि लगातार दबाब सिर्जना गरेपछि भएको हो। अमेरिकी राष्ट्रपतिले आफ्ना भेनेजुएली समकक्षी मदुरोमाथि लागुऔषध तस्करी र अपराधमार्फत अमेरिकामा घुसपैठ गरेको आरोप लगाउँदै आएका छन्। अमेरिकाले क्यारेबियन क्षेत्रमा लागुऔषध बोकेको शङ्कामा डुङ्गाहरूमाथि सैन्य कारबाही तीव्र पारिरहेको समयमा यो आक्रमण भएको हो।

अमेरिकाले राष्ट्रपति निकोलस मदुरो अवैधानिक रूपमा निर्वाचित भएको र उनी व्यक्तिगत रूपमै लागुऔषध तस्करीमा संलग्न रहेको दाबी गरेको छ। यता भेनेजुएला सरकारले भने वासिङ्टनका पछिल्ला कदमहरू राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन र भेनेजुएलाको तेल भण्डारमाथि नियन्त्रण जमाउन केन्द्रित रहेको बताएको छ। प्रतिबन्धित तेल ट्याङ्करहरू जफत गर्नु पनि अमेरिकाको सोही योजनाको हिस्सा भएको भेनेजुएलाको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖