काठमाडौं — एकता सम्झौता भएको दुई साता नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङबीचको सहकार्य टुट्ने निश्चितजस्तै देखिएको छ। तत्काल नयाँ र ठोस समझदारी नबने कुलमानले अगाडि बढाएको ‘उज्यालो नेपाल पार्टी’ रास्वपामा नअडिने निष्कर्षमा उनी निकटस्थ नेताहरू पुगेका छन्।
बुधबार मन्त्री पदबाट राजीनामा दिँदै रास्वपासँगको एकता टुटेको घोषणा गर्न लागेका कुलमानलाई निकटस्थहरूको आग्रहमा एकपटक रवि लामिछानेसँग छलफल गर्न रोकिएको थियो। सोही क्रममा शुक्रबार रास्वपा सभापति रविसँग बौद्धमा छलफल भए पनि मिलनविन्दु भेटिन सकेन।
छलफलपछि कुलमानले छुट्टै राजनीतिक यात्रा तय गर्ने निष्कर्षमा पुगेको जानकारी निकटस्थ नेताहरूले दिएका छन्। “अब निकै ठूलो सम्झौता भयो भने मात्र रोकिने अवस्था हो, नत्र रास्वपासँग मिलेर जाने मनस्थिति छैन,” छलफलमा सहभागी एक नेताले बताए।
कुलमानले रास्वपासँग वरीयता, केन्द्रीय समिति र समानुपातिक सांसदको विषयमा चित्त नबुझेको स्पष्ट पारेका थिए। सहमति अनुसार आफूलाई दोस्रो वरीयता, केन्द्रीय समितिमा २६ जना र समानुपातिकतर्फ कम्तीमा ६ जना सांसद सुनिश्चित गर्नुपर्ने माग उनले राखेका थिए। तर रास्वपा सभापति रविले २१ जना केन्द्रीय सदस्यसम्म मात्र दिन सकिने र समानुपातिक सांसद सुनिश्चित गर्न नसकिने जवाफ दिएका थिए।
यसपछि उज्यालो नेपाल पार्टीका नेताहरूले रास्वपासँग मिलेर जान गाह्रो भएको निष्कर्ष निकालेका छन्। भेलापछि कुलमान आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी अघि बढाउने तयारीमा पुगेका छन्।
अब उज्यालो नेपाल पार्टीबाट प्रत्यक्ष चुनाव लड्ने, रास्वपाको समानुपातिक सूचीबाट आफ्ना नाम फिर्ता गराउने र समानुपातिकका लागि अर्कै दलसँग सहकार्य गर्ने ‘प्लान बी’ मा केन्द्रित हुने तयारी भएको नेताहरू बताउँछन्। समानुपातिक सूची बुझाइसकेका पाँच–छ वटा पार्टी कुलमानसँग सम्पर्कमा रहेको दाबी पनि गरिएको छ।
यद्यपि, केही नेताहरू अझै रास्वपासँगको एकता जोगाउनुपर्ने पक्षमा छन्। तर सम्मान, सहमति कार्यान्वयन र राजनीतिक व्यवहारमा समस्या देखिएको भन्दै अधिकांश नेताहरू अब उज्यालो नेपाल पार्टी एक्लै अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन्।
