• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गगन थापा र रमेश लेखकबिच भेटवार्ता, जुटेन सहमति


  • धनकुटा खबर
  • .

काठमाडौँ । कांग्रेस विवाद समाधानका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता रमेश लेखकबिच भेटवार्ता भएको छ । यद्यपि यो भेटवार्तामा सहमति नजुटेको नेताहरूले बताएका छन् ।

गएराति दुई नेताबिच भेटवार्ता भएको संस्थापन इतर पक्षका नेता प्रकाश स्नेही रसाइलीले जानकारी दिए । सो भेटवार्तामा लेखकको प्रस्ताव थापाले अस्वीकार गरेको रसाइली बताउँछन् । यद्यपि लेखकको प्रस्तावबारे भने उनले केही खुलाउन चाहेनन् ।

नेपाली कांग्रेसभित्र २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेको विशेष महाधिवेशन मागकर्ताहरूकै चासोमा पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने तयारी छ ।

विशेष महाधिवेशन माग गरेको ३ महिनाभित्र बोलाउनु पर्ने व्यवस्था विधानमा भए पनि केन्द्रीय समितिले नबोलाएको भन्दै उनीहरूले पुस २३ गते आफैँ विशेष महाधिवेशन आह्वान गरेका हुन् । उनीहरूको आह्वानमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले ऐक्यबद्धता जनाएका छन् ।

पुस १८ र २४ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नियमित १५औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले सोही अवधिमा गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य सकिएको निर्णय गरेको थियो । संवेदनशील अवस्थामा विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुनेतर्फ पनि बैठकले सचेत गराएको छ । ‘वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा छैन । यस कार्यले पार्टीलाई विभाजन तर्फ लैजान सक्छ’ बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ ।

कार्यसम्पादन समितिले अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक हुन नसक्ने बताएको छ । ‘मिति २०८२ मंसिर १५ गतेको महाधिवेशनको कार्यतालिका २०८२ पौष १८ गतेको कार्यसम्पादन समितिको बैठकले संशोधन गरी १५औँ महाधिवेशन मिति (वैशाख २८–३१, २०८३) तोकिसकेको छ । तसर्थ, पार्टीको विधान अनुसार १५औँ महाधिवेशनको कार्यतालिका बमोजिम नियमित महाधिवेशनको आवश्यक प्रक्रिया अघि वढिसकेको पृष्ठभूमिमा अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन वैधानिक हुन सक्दैन,’ बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

तर, कार्यसम्पादन समिति बैठकमै विशेष महाधिवेशनका पक्षधर महामन्त्री थापाले नियमित महाधिवेशन घोषणा भएपछि विशेष महाधिवेशन हुन्न भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु भएको बताएका थिए । उनले भनेका थिए, ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु हो । चुनावभन्दा पहिले नै नेतृत्व फेर्ने मागलाई नियमित अधिवेशनको अल्झो हालेर पन्छाउन मिल्दैन ।’

महामन्त्री थापाले नियमित महाधिवेशनको कार्यसूची आए पनि विशेष महाधिवेशनको औचित्य समाप्त नहुने दाबी गरे । ‘पार्टी विधानको व्यवस्था हेर्दा नियमित महाधिवेशनको कार्यसूची घोषणा भएकै आधारमा विशेष महाधिवेशनको औचित्य समाप्त हुँदैन,’ थापाले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖