काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी रहँदा प्रतिनिधि दर्ता गर्ने संख्या २६६२ पुगेको आयोजक पक्षले दाबी गरेको छ। आइतबार राति ९ बजेसम्मको तथ्यांक भन्दै विशेष महाधिवेशन सचिवालयले विज्ञप्तिमार्फत यो जानकारी सार्वजनिक गरेको हो।
सचिवालयका सदस्य युवराज पाण्डेयद्वारा जारी विज्ञप्तिमा सो संख्या उल्लेख भए पनि यसबारे पार्टीका शीर्ष नेताहरूले औपचारिक रूपमा केही बताएका छैनन्। दर्ता प्रक्रियाको पारदर्शितामाथि भने प्रश्न उठ्न थालेका छन्।
उद्घाटन सत्र सम्पन्न भएपछि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता अस्थायी रूपमा रोकिएको छ। प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार बाँकी दर्ता सोमबार बिहानबाट पुनः सुरु गरिनेछ।
नेपाली कांग्रेसमा कुल ४७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्। विधानअनुसार कम्तीमा ५१ प्रतिशत अर्थात् २४१९ प्रतिनिधिले मतदान गरेमा मात्र विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुन सक्ने व्यवस्था छ।
