काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापा यस पटकको चुनावमा सर्लाही रोजेका छन् । यसअघि ३ पटक चुनाव जितेको काठमाडौं-४ छाडेर गगन सर्लाही-४ झरेका छन् ।
उनले काठमाडौं-४ मा सचिन तिमल्सेनालाई टिकट दिएका छन् । सर्लाहीबाट मधेश प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गर्न लगाए । उनी भोलि मात्रै निर्वाचन क्षेत्र जाने तयारी गरेका छन्।
सर्लाहीमा गगनको मुख्य प्रतिस्पर्धी ०७९ मा स्वतन्त्र उठेर जितेका अमरेशकुमार सिंह हुने देखिएको छ । अमरेशले गएको चुनावमा कांग्रेसबाट टिकट नपाएपछि बागी उठेर जितेका थिए।
अहिले अमरेश रास्वपाबाट लड्दै छन् । थापा र सिंहसहित नेपाली कम्युनिस्ट पार्टीबाट डा. रजनीश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वरराय यादव र एमालेबाट रविशङ्कर कुशवाहा मैदानमा छन् ।
गएको चुनावमा कांग्रेसबाट विद्रोह गरेका सिंहले २० हजार १७ मत ल्याएर जित्दा कांग्रेसका नागेन्द्रकुमार १८ हजार २५३ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२, जसपा नेपालका राकेश कुमार मिश्रले ५ हजार ८१३ पाएका थिए ।
बहुजन एकता पार्टी नेपालका राजा राम पासवानले १ हजार १५८ जनमतका रामबावु रायले ३ हजार ४२९ मत ल्याउँदा रास्वपाका धिरज ठाकुरले ३०६ मत मात्रै ल्याएका थिए ।
तर, अहिले काठमाडौंका पूर्वमेयर बालेन साह पनि रास्वपामा प्रवेश गरेपछि रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै ‘मधेश पुत्र’ ब्रान्डिङ गर्न खोजेको छ । त्यसैले गगनको मुख्य प्रतिस्पर्धी सिंह नै हुने विश्लेषण भइरहेको छ । गएको निर्वाचनमा जसपा नेपाललाई सघाएको एमाले पनि यहाँ कमजोर छ ।
कांग्रेसबाट विद्रोह गरेर सिंहले गएको चुनावमा जित्दा समानुपातिकतर्फ पनि यो क्षेत्रमा कांग्रेस नै पहिलो भएको थियो । कांग्रेसले १६ हजार २९, जनमतले १२ हजार ५९५, नेकपाले (माओवादी र एकीकृत समाजवादी) ११ हजार २६९ ल्याउँदा एमालेले ९ हजार ४७१ मत पाएको थियो ।
समानुपातिकतर्फ बहुजन एकता पार्टी नेपालले ५ हजार ४४४, जसपा नेपालले ५ हजार १५२, लोसपाले ३ हजार ६७३ र राष्ट्रिय स्वतन्त्र पार्टी १ हजार १९९ मत मात्रै ल्याएको थियो ।
०७४ को चुनावमा पनि एमाले र माओवादी मिल्दा पनि कांग्रेसबाट सिंहले नै जित हात पारेका थिए । त्यसैले समानुपातिक र प्रत्यक्षतर्फको मतको विश्लेषण गर्दा पनि गगनको सहज जित देखिन्छ । मुख्य चुनौतीका रूपमा हेरिएको अमरेशले जितलाई निरन्तर कायम राख्नको लागि यस पटक मतमा ठूलो उलटफेर आउनुपर्छ ।
