• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

पत्रकारबाट राजनीतिमा उत्रिएका ऋषि धमला चुनावी मैदानमा यति व्यस्त


  • धनकुटा खबर
  • .

पत्रकारबाट राजनीतिमा उत्रिएका ऋषि धमला पछिल्लो समय चुनावी मैदानमा यति व्यस्त देखिएका छन् कि उनको अभियान राजनीति कम, तमासा बढी जस्तो बन्न थालेको टिप्पणी हुन थालेको छ। कहिले ट्याक्टर चलाउँदै खेतमा, कहिले साइकल चढेर गल्ली–गल्लीमा, त कहिले सर्वसाधारणको घर–घर पुगेर काम गरिदिँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

धमलाको यो शैलीलाई समर्थकले “जनतासँग जोडिने प्रयास” भने पनि आलोचकहरू भने उनलाई नेताभन्दा बढी जोकर जस्तो व्यवहार गरेको आरोप लगाइरहेका छन्। “आज ट्याक्टर, भोलि के—गाई दुहुने?” भन्ने व्यङ्ग्य सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देखिन्छ। कतिपयले त उनको अभियानलाई नीतिगत बहसभन्दा रियालिटी शो सँग तुलना गर्न थालेका छन्।

राजनीतिमा गम्भीर एजेन्डा, नीति र समाधान आवश्यक पर्ने बेला धमलाले प्रतीकात्मक काममा मात्रै जोड दिएको भन्दै प्रश्न उठाइएको छ। “ट्याक्टर चलाउँदा किसानको समस्या समाधान हुन्छ?” र “साइकल चढ्दैमा विकास आउँछ?” भन्ने आलोचनात्मक टिप्पणीहरू व्यापक छन्। पत्रकारितामा अरूलाई कडा प्रश्न सोध्ने धमला आफैं राजनीतिमा आएपछि भने गम्भीर जवाफ दिनुको सट्टा स्टन्टमा रमाएको आरोप लागिरहेको छ।

यता धमलाका समर्थकहरू भने उनको गतिविधिलाई श्रमको सम्मान र जमिनसँग जोडिएको राजनीति भन्दै बचाउ गरिरहेका छन्। तर चुनाव नजिकिँदै जाँदा उनको यो शैली जनप्रिय नेतृत्वको संकेत कि चुनावी जोकरपना भन्ने बहस झन् चर्किँदै गएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार अब धमलाले तमासाभन्दा बाहिर निस्केर स्पष्ट एजेन्डा र ठोस योजना नल्याए, यो ‘चटक’ नै उनको पहिचान बन्ने जोखिम छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖