• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ओली जिताउन झापा–५ मा देवेन्द्र दाहालको कमान्डमा ५०१ सदस्यीय चुनावी समिति गठन


  • धनकुटा खबर
  • .

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा चुनाव परिचालनको जिम्मेवारी पोलिटब्युरो सदस्य देवेन्द्र दाहाललाई सुम्पिएको छ। गौरादहमा आज बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले दाहालको संयोजकत्वमा ५०१ सदस्यीय विशाल निर्वाचन परिचालन समिति गठन गरेको हो।

समितिको सहसंयोजकमा केन्द्रीय सदस्य दीपक कार्की र मेनुका काफ्ले तोकिएका छन् । संयोजक दाहाल २०४८ सालदेखि नै ओलीको चुनावी कमान्डरका रूपमा सक्रिय रहँदै आएका अनुभवी नेता हुन् ।

सहसंयोजक कार्की पूर्व सांसद तथा गौरादहका पूर्वगाविस अध्यक्ष हुन् भने अर्की सहसंयोजक काफ्ले कमल गाउँपालिकाकी निवर्तमान अध्यक्ष हुन्। निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन ९ वटा उपसमिति र ६९ सदस्यीय सचिवालय समेत गठन गरिएको छ।

परिचालन समितिमा निर्वाचन क्षेत्रभित्र घर भएका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका सदस्यहरू र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई समेटिएको छ। एमाले केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार कार्यालय सञ्चालन, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन र कानुनी परामर्श लगायतका विभिन्न ९ वटा उपसमितिहरूले आफ्नो काम सुरु गरिसकेका छन्।

पार्टीका क्षेत्रीय संयोजक एवं परिचालन समितिका सचिव नारायण गौतमले अध्यक्ष ओलीलाई अत्यधिक मतले जिताउन सबै नेता र कार्यकर्ताहरू मतदाताको घरदैलोमा पुग्ने बताए। आगामी माघ १२ गतेभित्र वडा र टोल तहसम्मका प्रचार समितिहरू गठन गरिसक्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖