• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

वैवाहिक समारोहमा आत्मघाती विस्फोट, सात जनाको मृत्यु


  • धनकुटा खबर
  • .

इस्लामावाद । उत्तरपश्चिमी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक वैवाहिक समारोहमा भएको आत्मघाती बम विस्फोटमा परी सात जनाको मृत्यु भएको छ। डेरा इस्माइल खान जिल्लामा रहेको शान्ति समितिका सदस्यहरू बस्ने भवनलाई लक्षित गरी शुक्रबार राति विस्फोट गराइएको हो।

प्रहरी अधिकारी मोहम्मद अदनानका अनुसार विस्फोटका कारण भवनमा ठुलो क्षति पुगेको छ भने घटनास्थलमै तीन जनाको ज्यान गएको थियो। घाइते भएकामध्ये चार जनाको अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको हो। सो क्षेत्रमा सक्रिय लडाकु समुहहरूविरुद्ध लड्नका लागि स्थानीय बासिन्दा र भद्रभलादमीहरू मिलेर यस्ता शान्ति समिति बनाइएको हुन्छ, जसलाई सरकारको समर्थन प्राप्त छ।

अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन। यद्यपि, प्रहरी र सुरक्षा निकायले यसमा पाकिस्तानी तालिबान (टीटीपी) को संलग्नता रहेको आशङ्का गरेका छन्। टीटीपीले यस्ता शान्ति समितिका सदस्यहरूलाई ‘गद्दार’ भन्दै विगतमा पनि कैयौँ पटक निशाना बनाउँदै आएको छ।

यो घटना यस्तो समयमा भएको छ, जतिबेला पाकिस्तानी सेनाले अफगानिस्तानसँग जोडिएको सीमा क्षेत्रमा सशस्त्र समूहहरू विरुद्ध ठुलो सैन्य अपरेसनको तयारी गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖