• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

किन भयो बजारमा खाना पकाउने ग्यासको अभाव ?


  • धनकुटा खबर
  • .

काठमाडौं । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल्नु परेको छ ।

सबैभन्दा धेरै ग्यास आयात हुने इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी मर्मतका क्रममा रहेकाले त्यहाँबाट कोटाअनुसार ग्यास लोड हुन नसकेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार नेपालमा मुख्यतः बरौनी, मथुरा, पारादीप र दुर्गापुर रिफाइनरीबाट ग्यास आयात हुँदै आएको छ । तीमध्ये मथुरा रिफाइनरीबाट भने नियमित रूपमा कोटाअनुसार ग्यास आइरहेको छ । तर बरौनी रिफाइनरीमा पुरानो प्लान्टका कारण बारम्बार मर्मत आवश्यक पर्ने भएकाले बीच–बीचमा दुई–चार दिनसम्म ग्यास लोड नै हुन नसकेको निगमको भनाइ छ ।

यस्तै, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले पनि अहिले बरौनीबाट सीमित मात्रामामात्रै ग्यास आउन थालेको स्विकार गरे । ‘पारादीप र दुर्गापुर रिफाइनरीबाट पनि अपेक्षाभन्दा कम आपूर्ति भइरहेको छ,’ उनले भने । जाडोयाममा भारतमै पनि ग्यासको खपत बढ्ने भएकाले आईओसीले पहिला आफ्नै आन्तरिक माग पूरा गरेपछि मात्र नेपालतर्फ आपूर्ति गर्ने चलन रहेकाले समेत समस्या बढेको हो ।’

जाडो महिनामा विशेषगरी काठमाडौं उपत्यकामा ग्यासको खपत सामान्य समयको तुलनामा २०–२५ प्रतिशतसम्म बढ्ने गर्दछ । नेपालमा प्रतिमहिना करिब ४७–४८ हजार मेट्रिक टन ग्यास आवश्यक पर्नेमा चालु महिनामा आयात ४२–४३ हजार मेट्रिक टनमा सीमित हुने अनुमान गरिएको छ । यसरी चार–पाँच हजार मेट्रिक टनसम्म ग्यास कम आयात हुँदा बजारमा अभाव देखिएको चन्दले जानकारी दिए ।

अर्कोतर्फ, बरौनीबाट ग्यास नपाउँदा पारादीप (ओडिसा) जस्ता टाढाका रिफाइनरीसम्म गाडी पठाउनुपर्ने अवस्था आउँदा ढुवानीका साधनको अभाव पनि समस्या बनेको चन्दको भनाई छ । उनका अनुसार गाडी समयमै नपुग्दा लोडिङ प्रभावित भएको छ ।

चन्दकाअनुसार ग्यास आयातमा देखिएको समस्या करिब २०–२५ दिनदेखि रहे पनि बजारमा भने पछिल्लो एक–डेढ हप्तादेखि मात्र प्रत्यक्ष प्रभाव देखिन थालेको हो । अहिले उपलब्ध गाडी प्रयोग गरी ग्यास ल्याउने प्रयास तीव्र पारिएको र क्रमशः आपूर्ति सुधार हुँदै गएको उनले बताए । “यो समस्या धेरै दिन लम्बिँदैन, अब एक–डेढ हप्ताभित्र आपूर्ति क्रमशः सामान्य अवस्थामा फर्किनेछ,” निगम स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖