काठमाडौं । गायिका ज्योति मगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर देखिएको रुझानलाई २०६४ सालको माओवादी पार्टीसँग तुलना गरेकी छन् । हिजो राजतन्त्र हटाउनलाई जनताले जुन खालको भूमिका खेलेका थिए, यसपटक एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस हटाउनलाई त्यस्तै भूमिका खेलेको मगरको भनाइ छ ।
उनले नेपालप्रेससँग भनिन्, ‘२०६४ को माओवादी र अहिलेको रास्वपाले प्राप्त गरेको मतबीचमा केही फरक छैन । हिजो जनताले राजा हटाउन जस्तो भूमिका खेलेको थियो, आज केपी ओली र कांग्रेस लखेट्न त्यस्तै भूमिका खेलेको छ ।’
हरेक आन्दोलनमा शक्तिको लडाइँ हुने र त्यो शक्तिको लडाइँमा जनता प्रयोग मात्र भइरहेको उनको भनाइ छ । जनताको बलिदान आज मात्र नभएर हिजो २०४६ सालको आन्दोलनदेखि नै खेर गइरहेको उनले बताइन् ।
‘जनताले पहिलो जनआन्दोलनदेखि नै विवेक प्रयोग नगरेको जस्तो लाग्छ । सबैले जनतालाई प्रयोग मात्र गरिरहे,’ उनले भनिन्, ‘हिजो दलित, जनजाति, महिला, मधेसीको नाममा जनताको इमोसनसँग खेले । कहिले पर्वको नाममा, कहिले लिंगको नाममा, कहिले जातको नाममा जनताको भावनामाथि खेलबाड गरे । यसपटक पुरानालाई हटाउने नाममा जनतामाथि खेलबाड भएको छ ।’
आजका दिनसम्म पनि जनताको लागि जनआन्दोलन भएजस्तो आफूलाई नलाग्ने उनले बताइन् । हरेक आन्दोलन नेता फेर्न र नयाँ मान्छेलाई शक्तिमा ल्याउनलाई आन्दोलन भएको ज्योतिको ठम्याई छ । आफू देशलाई क्षति हुने जुनसुकै विध्वंसको विपक्षमा रहेको समेत उनले बताइन् ।
उनी पछिल्लो समय नेकपा एमालेको पक्षमा खुलेर लागेकी थिइन् । केपी ओलीलाई निर्वाचनमा सहयोग गर्न झापा–५ मा समेत पुगेकी थिइन् । तर, मतगणनामा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहभन्दा धेरै पछाडि छन् ।
ओलीसँग बालेनले मतान्तर बढाउँदै लानुलाई कसरी लिनुहुन्छ ? भन्ने प्रश्नमा ज्योतिले भनिन्, ‘हिजो नारायणहिटीबाट राजा भागेको यही आँखाले देखेको हो । जनयुद्ध पनि आँखैअघि देखेको हो । जनयुद्धपछिको परिस्थिति पनि भोगेरै आएको हो । अबको ८–१० वर्षपछि यस्तै स्थिति आउन सक्छ, जनताले यो कुरा बुझ्न जरुरी छ । अब आउने सरकारलाई स्थिर हुन दिएनौं भने फेरि पनि भाँडभैलो नै हुन्छ ।’
ओली हार्ने सम्भावनाबारे आफू पहिल्यै अवगत भएको उनको दाबी छ । आफूले पहिले नै हार्ने सम्भावना देखे पनि लोकतन्त्रमा आफूलाई मनपर्ने नेतालाई समर्थन गर्न पाइने बताइन् । उनले ओलीबारे भनिन्, ‘केपी ओलीले राजनीतिक स्थिरता दिने कुरा सत्य हो । उहाँको कामहरु हेरे हुन्छ । उहाँको योजनाहरु हेरे हुन्छ । भोलि सरकारमा बसेको मान्छेले ओलीले जति काम गर्न सक्छ वा सक्दैन, त्यो देखिहालिन्छ । तर, यहाँ राम्रो काम गर्दागर्दै पनि हार्ने स्थिति बन्छ ।’
