युएई । संयुक्त अरब इमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत भ्रामक र एआईबाट बनाइएका नक्कली भिडियो फैलाएको आरोपमा एक नेपाली नागरिकसहित १० जना पक्राउ परेका छन्। यूएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल शाम्सीको आदेशमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो।
यूएईबाट प्रकाशित खालिज टाइम्सका अनुसार पक्राउ पर्नेहरूमा नेपाल, इजिप्ट, फिलिपिन्स, भियतनाम, पाकिस्तान, इरान, बंगलादेश र क्यामरुनका एक–एक जना नागरिक तथा भारतका दुई जना नागरिक रहेका छन्। सार्वजनिक अभियोजनले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।
अनुसन्धानका क्रममा आरोपितहरूले यूएईको हवाई प्रतिरक्षा प्रणालीले आक्रमण विफल पारेका वास्तविक भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेको पाइएको छ। साथै एआई प्रविधिको दुरुपयोग गरी तयार पारिएका नक्कली भिडियोमार्फत यूएईका प्रमुख स्थलहरूमा विस्फोट, आक्रमण तथा आगलागी भएको जस्तो झुटो प्रचार गरिएको पनि खुलेको छ।
अधिकारीहरूका अनुसार क्षेत्रीय तनावको अवस्थालाई प्रयोग गर्दै सर्वसाधारणमा डर र त्रास फैलाउने, राष्ट्रिय सुरक्षा तथा सामाजिक स्थिरतामा असर पुर्याउने उद्देश्यले यस्ता सामग्री सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो। कतिपय भिडियोमा बालबालिकाको भावनासँग खेल्ने प्रयास गरिएको, सैन्य संरचनाहरू नष्ट भएको झुटो दाबी गरिएको तथा विदेशमा भएका घटनालाई यूएईमा भएको जस्तो देखाइएको गल्फ न्युजले जनाएको छ।
यूएईका महान्यायाधिवक्ता अल शाम्सीले जानाजानी भ्रामक जानकारी फैलाएर जनसुरक्षामा खतरा पैदा गर्ने कार्यलाई गम्भीर अपराध मानिने बताएका छन्। यस्तो अपराधमा दोषी ठहरिएमा आरोपितलाई कम्तीमा एक वर्षसम्म जेल सजाय र एक लाख दिराम (करिब ४० लाख रुपैयाँ) भन्दा कम नहुने जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ।
यूएई सरकारले साइबर स्पेस वा आधुनिक प्रविधिको दुरुपयोग गरेर देशको सुरक्षा व्यवस्थामा असर पार्ने गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिने चेतावनी दिएको छ। साथै डिजिटल प्लेटफर्महरूमा निरन्तर निगरानी भइरहेको र यस्ता गतिविधिमा संलग्न जोकोहीमाथि कडा कानुनी कारबाही गरिने पनि जनाएको छ।
