• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

धादिङमा मनपरी नचल्ने भन्दै आशिका तामाङले जनप्रतिनिधिलाई दिइन् यस्तो चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङले आफ्नो क्षेत्रभित्र पर्ने कुनै पनि राजमार्गमा ‘पटके कर’ वा यस्तै प्रकृतिका अवैध कर संकलन कार्य कदापि स्वीकार्य नहुने बताएकी छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै धादिङ निर्वाचन क्षेत्र नम्बर १ की सांसद तामाङले यस्तो बताएकी हुन् ।

यस प्रकारका गतिविधि तुरुन्त बन्द गर्न सम्बन्धित सबै पालिका तथा सरोकारवाला निकायलाई उनले निर्देशन समेत दिएकी छन् ।

उनले भनेकी छन्,‘सर्वोच्च अदालतले २०८२ माघ २८ गते राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गहरूमा स्थानीय तहले कर वा सडक उपभोग शुल्क उठाउन नपाउने भनी ऐतिहासिक अन्तरिम आदेश जारी गरिसकेको छ। यस आदेशअनुसार अब राजमार्गमा ढाट, गेट वा टेबुल राखी सवारी साधनबाट रकम असुल गर्नु गैरकानुनी, असंवैधानिक तथा अदालतको आदेशको ठाडो उल्लंघन हो ।’

निर्देशन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको पाइएमा सम्बन्धित नगरप्रमुख वा गाउँपालिका अध्यक्ष विरुद्ध अदालतको अवहेलना सम्बन्धी कडा कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइन् ।

नेपालको संविधानको धारा २३६ ले एक स्थानबाट अर्को स्थानमा हुने वस्तु ढुवानीमा कुनै पनि प्रकारको बाधा वा कर लगाउन निषेध गरेको उनले बताइन् ।

राजमार्गमा सवारी रोकी पैसा असुल गर्नु जनताको अधिकारमाथिको गम्भीर हस्तक्षेप भएको समेत उनले बताए ।

‘हामी विधिको शासन स्थापना गर्न र जनतालाई राहत दिन निर्वाचित भएका हौँ। धादिङ–१ मा अब कानूनको शासन चल्नेछ,कुनै व्यक्तिको मनपरी वा गैरकानुनी अभ्यास होइन । यदि तपाईंको क्षेत्रमा अझै पनि यस्तो कर असुली भइरहेको छ वा ढाट राखिएको छ भने, कृपया प्रमाणसहित मलाई तुरुन्त जानकारी गराउनुहोस्,उनले भनिन् ।

आफूहरु सुशासन कायम गरी भ्रष्टाचार अन्त्य गर्न आएको समेत उनले बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖