• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को?


  • धनकुटा खबर
  • .

काठमाडौ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनबारे छलफल सुरू गरेको छ।

चुनावअघि पार्टीले जारी गरेको वाचा पत्रअनुसार मन्त्रालय संख्या घटाउने गृहकार्यमा रास्वपा जुटेको छ। साथै, क-कसलाई मन्त्री बनाउने भन्नेबारे पनि पार्टीमा छलफल भइरहेको छ।

पार्टीका एक पदाधिकारीका अनुसार मन्त्रालय संख्या घटाएर १५ देखि १८ मा सीमित गर्ने तयारी छ। त्यस्तै, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले दुवैलाई मन्त्री बनाउने गरी छलफल पनि चलिरहेको छ। अर्याल गृहमन्त्री र वाग्ले अर्थमन्त्री बनाउने गरी छलफल भइरहेको ती पदाधिकारीले जानकारी दिए।

यसबाहेक महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा, सांसदहरू शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे, सस्मित पोखरेल लगायतलाई पनि मन्त्री बनाउने विषयमा छलफल चलेको ती पदाधिकारी बताउँछन्।

‘शिशिरलाई परराष्ट्र, सोबितालाई कानुनमन्त्री बनाउने कुरा छलफलमा छ,’ ती पदाधिकारीले भने, ‘सभामुखको पद युवालाई दिने भनेर सभापतिजीले भन्नुभएको छ, कसलाई बनाउने यकिन भइसकेको छैन।’

सरकार गठनको तयारीका साथै प्रधानमन्त्रीको शपथका बेला विदेशी राष्ट्राध्यक्षहरूलाई निम्तो दिने गरी छलफल पनि भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्।

चैत १२ गते सांसदहरूलाई शपथ खुवाउने तयारी छ। त्यसको भोलिपल्ट रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने छन्।

सरकार गठन तयारी लगायत विभिन्न विषयमा बिहीबार साँझ पनि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖