• Wednesday 7th of October 2026

दुधकुण्ड जलविद्युत् आयोजनाको आईपीओ भर्न आज अन्तिम मौका


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ बैशाख । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने समय आज सकिँदैछ। कम्पनीले सोलुखुम्बु क्षेत्रका स्थानीयलाई लक्षित गर्दै ८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।

प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा जारी गरिएको उक्त आईपीओको कुल मूल्य ८ करोड ६० लाख रुपैयाँ बराबर रहेको छ। कम्पनीका अनुसार निष्काशित शेयरमध्ये ३ लाख ४४ हजार कित्ता सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ र २ का अति प्रभावित स्थानीयलाई छुट्याइएको छ। बाँकी ५ लाख १६ हजार कित्ता भने सोही नगरपालिकाका अन्य वडाका स्थायी बासिन्दालाई वितरण गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीले निर्माण गरिरहेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत् आयोजनाको कुल लागत २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि अझै २८ वर्ष ९ महिना बाँकी रहेको छ। कम्पनीका अनुसार आयोजनामा गरिएको लगानी साधारण रूपमा ६ वर्ष ४० महिनामा फिर्ता हुने अनुमान गरिएको छ भने डिस्काउन्ट दरमा लगानी फिर्ता अवधि ८ वर्ष ९४ महिना रहेको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖