• Wednesday 7th of October 2026

‘बालेन शाहको नियत राम्रो छैन, समर्थन गर्नुपर्ने कुनै कारण छैन’


  • धनकुटा खबर
  • .

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सही दिशामा अघि बढ्न नसकेको टिप्पणी गरेका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारका गतिविधिमाथि विभिन्न आशंका र प्रश्न उठिरहेको भन्दै अहिलेको अवस्थालाई समर्थन गर्न नसकिने बताएका हुन् ।

उनले सुकुमबासी समस्या अझै समाधान हुन नसकेको उल्लेख गर्दै ट्रेड युनियन, विद्यार्थी र संविधान संशोधनसँग सम्बन्धित विषयहरू पनि गम्भीर रूपमा बाँकी रहेको बताए ।

प्रचण्डले भने, “सुकुमबासीहरूको समस्या समाधान भएको छैन । ट्रेड युनियन र विद्यार्थीसँग सम्बन्धित विषयहरू पनि गम्भीर छन् । संविधान संशोधनका लागि सरकारले तयार पार्ने भनेको बहसपत्र पनि पारदर्शी ढंगले अगाडि आएको छैन ।”

उनले सरकारले अध्यादेशमार्फत काम अघि बढाउनु गलत अभ्यास भएको टिप्पणी गरे । संसद् बोलाएर नियमित प्रक्रियाबाट विधेयक ल्याउन सकिने अवस्था हुँदाहुँदै अध्यादेशको बाटो रोजिनु आपत्तिजनक भएको उनको भनाइ थियो ।

“आफ्नै बहुमत नजिकको सरकार भएर पनि सदनलाई छल्दै अध्यादेश ल्याउने काम लाजमर्दो हो,” उनले भने, “त्यसको हामीले निरन्तर प्रतिवाद गरिरहेका छौँ ।”

प्रचण्डले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र आवश्यक परिमार्जनका विषयमा सरकारले सकारात्मक काम गरे आफूहरू रचनात्मक सहयोग गर्न तयार रहेको बताए । तर पछिल्ला गतिविधिले सरकारप्रति समर्थन गर्न सकिने आधार कमजोर बनेको उनको भनाइ थियो ।

उनले जनस्तरबाट समेत सरकारविरुद्ध आवाज उठ्न सक्ने संकेत गर्दै सरकारलाई सतर्क हुन सुझाव दिएको बताए ।

“सरकारले यी विषयलाई गम्भीर रूपमा लिएन भने चौतर्फी प्रतिवादको अवस्था आउन सक्छ,” उनले चेतावनी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖