काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले सरकारलाई संसदप्रति जबाफदेही बनाउन आफ्नो पार्टी निरन्तर विरोधमा उत्रिने बताएका छन् । विरोधका कारण निलम्बन हुनुपरे पनि आफूहरू तयार रहेको उनले स्पष्ट पारे ।
बुधबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सभामुखले सरकारलाई प्रश्न गर्न नदिने गरी गरेको रुलिङप्रति पनि असन्तुष्टि जनाए । उनले संसदको विधि–विधान र सार्वभौम अधिकारको रक्षा गर्न निलम्बनसम्मको अवस्था आए पनि पछि नहट्ने बताए ।
उनले सुकुम्वासी समस्या, लिपुलेक विवाद, विदेशी ऋणलगायत विषयमा उठाइएका प्रश्नको सरकारले जवाफ नदिएको आरोप लगाए ।
जनताका जिज्ञासाको उत्तर दिन नसक्ने सरकारप्रति अन्ततः जनताले नै मूल्याङ्कन गर्ने उनको भनाइ थियो ।
