काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदनप्रति प्रतिनिधि सभा सदस्य आशिका तामाङले आपत्ति जनाएकी छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफ्नो नामसमेत प्रतिवेदनमा उल्लेख गरिएको विषयप्रति रास्वपा सांसद तामाङले आपत्ति जनाएकी हुन् ।
तामाङले सन् २०१८ देखि भ्रष्टाचार, कुशासन, अन्याय र राज्यका गलत प्रवृत्तिविरुद्ध निरन्तर आवाज उठाउँदै आएको बताएकी छिन् । जर्मनीबाट नेपाल फर्किएपछि आफू एक्लै भए पनि सडकदेखि सामाजिक सञ्जालसम्म अन्यायविरुद्ध बोल्दै आएको उनले उल्लेख गरेकी छिन् ।
उमेरले जेनजी नभए पनि मनले सधैँ युवा पुस्ताको पीडा, आक्रोश र आशासँगै उभिएको उनले बताइन् ।
तामाङले आयोगप्रति प्रश्न उठाउँदै आन्दोलनका क्रममा गोली लागेका घाइतेहरूलाई अस्पताल–अस्पताल पुगेर भेटेको, पीडित परिवारको पीडामा साथ दिएको र मानवताको पक्षमा उभिएको आफ्नो भूमिका आयोगले नदेखेको गुनासो गरिन् ।
उनले आफूले कहिल्यै हिंसा, आगजनी वा तोडफोडका गतिविधिमा संलग्न नभएको दाबी गर्दै लेखेकी छिन्, ‘मैले कसैलाई हिंसा गर्न उक्साएको छैन, निर्दोषमाथि गोली चलाएको छैन। मैले केवल अन्यायविरुद्ध बोलेको हुँ ।’
तामाङले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई १८ दिन हिरासतमा राखेको प्रसङ्ग पनि स्मरण गरिन् । त्यतिबेला आफ्नी तीन वर्षीया छोरीसँगको पीडा र परिवारमाथि परेको असरबारे आयोग मौन बसेको भन्दै उनले प्रश्न गरिन्,‘त्यो बेला मानव अधिकार आयोग कहाँ थियो ?’
उनले सम्बन्धित निकायसँग आफ्नो कुन अभिव्यक्ति वा गतिविधिले हिंसा भड्काएको भन्ने स्पष्ट तथ्य सार्वजनिक गर्न माग गरेकी छन् । साथै निष्पक्ष अनुसन्धानको आवश्यकता औँल्याउँदै उनले आफूले बोलेका शब्दसँगै आफूले भोगेका अन्याय पनि अनुसन्धानको दायरामा ल्याउन आग्रह गरिन् ।
सत्य लुकाएर नलुक्ने र जनताको पक्षमा बोलेको आवाज दबाएर सत्य समाप्त नहुने समेत उनले बताइन् ।
