• Tuesday 6th of October 2026

मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली


  • धनकुटा खबर
  • .

काठमाडौं । मूल्य घट्ने अनुमानमा अधिकांश पेट्रोल पम्पले नेपाल आयल निगमबाट इन्धन नउठाउँदा काठमाडौंसहित देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखिएको छ। धेरै पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्दै सेवा बन्द गरेका छन्।

नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँका दरले मूल्य घटाएको थियो। स्वचालित मूल्य प्रणालीअनुसार प्रत्येक अंग्रेजी महिनाको १५ गते र अन्तिम दिन मूल्य समायोजन गर्ने व्यवस्थाअनुसार निगमले मूल्य घटाएको हो।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा पनि मूल्य घट्ने निश्चित भएपछि नोक्सानीको डरले धेरै पेट्रोल पम्पले मंगलबार डिपोबाट इन्धन नउठाएका थिए। त्यसैको असरस्वरूप केही स्थानमा इन्धन वितरण प्रभावित भएको उनले बताए।

बजारमा अभाव देखिएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यकामा तीन वटा अनुगमन टोली परिचालन गरेको छ। टोलीले बन्द रहेका वा इन्धन वितरण नगरेका पेट्रोल पम्पको अनुगमन गरी आवश्यक परे सिल गर्ने अधिकारसमेत पाएको निगमले जनाएको छ।

प्रवक्ता ठाकुरका अनुसार उपत्यकाबाहिरका प्रादेशिक कार्यालयलाई पनि अनुगमन गर्न निर्देशन दिइएको छ। उनले डिलरमार्फत मागअनुसार इन्धन आपूर्ति भइरहेको र केही पम्पले अघिल्ला दिनमा कम परिमाणमा इन्धन उठाएकाले अस्थायी समस्या देखिएको बताए।

उनले साँझसम्म अधिकांश स्थानमा आपूर्ति सहज हुने र भोलिसम्म बजार पूर्ण रूपमा सामान्य हुने दाबी गर्दै उपभोक्तालाई आत्तिनु नपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य हाल अमेरिका–इरान तनावअघि कै स्तरमा फर्किएपछि त्यसको प्रभाव नेपालमा पनि परेको हो। यद्यपि, नेपाली बजारमा इन्धनको मूल्य अझै पनि युद्धअघिको स्तरमा भने नझरेको उपभोक्ताको गुनासो रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖