काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन्। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीसँग विवादित अभिव्यक्तिबारे स्पष्ट जवाफ मागिरहेका बेला उनी सिंहदरबारस्थित संघीय संसद् भवनमा जारी बैठकमा सहभागी भएका हुन्।
गत जेठ १७ गते प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले नेपालको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइको आधार र प्रमाण संसद्मा प्रस्तुत गर्नुपर्ने, अन्यथा सदनमा माफी माग्नुपर्ने माग विपक्षी सांसदहरूले गर्दै आएका छन्।
यसै विषयलाई लिएर संसद्मा निरन्तर प्रश्न उठ्दै आएको छ भने आजको बैठकमा प्रधानमन्त्रीले आफ्नो धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ। संसद्मा यस विषयमा थप छलफल हुने सम्भावना रहेको छ।
